कांग्रेसका प्रदेश सदस्यहरु मन्त्रीका लागि तोक लगाउन काठमाडौंमा, यि नेताहरुले खोजे कोटा

सुर्खेत । कर्णाली सरकारमा सहभागि हुन कांग्रेसका प्रदेश सदस्यहरु मन्त्रीका लागि दौडमा छन् । कांग्रेसका नेता र प्रदेश सदस्यहरुको दौडधुप बाक्लिएपछि मन्त्रिपरिषद् विस्तारमा समस्या भएको छ । एमालेबाट मुख्यमन्त्री भएका यामलाल कँडेलको नेतृत्वमा कांग्रेस सरकारमा जान खोजिरहेको छ । मन्त्रीका लागि प्रदेश सदस्यहरुमा देखिएको रस्साकस्सीमा सहमति जुटेको छैन ।

केन्द्रीय नेताहरूले आफ्नो कोटाअनुसार प्रदेश सदस्यलाई मन्त्री बनाउन खोजेका कारणले थप समस्या निम्तेको छ ।त्यसबाहेक, संसदीय दलको नेतासमेत नभएका कारण कर्णाली प्रदेशसभामा कांग्रेसमा बाहिरका नेताहरू हावी हुन खोजेका छन् । सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणामात्र होइन, उपसभापति पूर्णबहादुर खड्का, नेता हृदयराम थानी,जीवनबहादुर शाहीहरूले पनि कोटा खोज्न थालेपछि समस्या भइरहेको कांग्रेस स्रोतको दाबी छ ।

स्रोतका अनुसार देउवा र राणाले सांसदसमेत रहेका केन्द्रीय सदस्य राजीवविक्रम शाह र जानकी सिंहलाई मन्त्री बनाउन चाहेका छन् । प्रमुख सचेतक रहेका हिक्मत विष्टसहित काठमाडौं आएका प्रदेश सदस्यहरुलाई देउवा परिवारले त्यही सन्देश दिएको कांग्रेस स्रोतको दाबी छ । यी दुवै जना अघिल्लोपटक मन्त्री हुने प्रयासमा थिए ।

संसदीय दलका नेता जीवनबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि उनी हाल निलम्बनमा छन् । शाहीविरुद्ध वाइबडी विमान प्रकरणमा मुद्दा परेको हो । त्यसैले, शाहीको निर्णय प्रभावी नहुने भएपछि प्रदेश सदस्यहरुहरू काठमाडौं आएर मन्त्रीको दाबी गरिरहेका छन् । तर पनि, शाहीले हुम्लाबाट विजया बुढालाई मन्त्री बनाउन खोजेका छन् । अनि, उपसभापति खड्काले पनि आफ्नो कोटाबाट मन्त्री बनाउन खोजिरहेका छन् । अहिलेको गठबन्धन बनाउने क्रममा पाखा पारिएका खड्का प्रदेशसभामा पनि पाखा पर्न सक्ने चर्चा पनि कांग्रेसमा भइरहेको छ ।

खड्काले खड्गबहादुर पोखरेललाई मन्त्री बनाउन खोजेका छन् । पोखरेलको विकल्पमा दैलेखका पूर्णबहादुर खत्रीको नाम पनि लिएका छन् । खड्काको कोटा पर्नका लागि देउवा परिवारले भनेका दुईमध्ये एक जनाको नाम रोकिनुपर्ने हुन्छ । यता शेखर कोइराला समूहबाट भने सुरेश अधिकारीको नाममा करिब सहमति जुटेको छ ।

माओवादी सरकारबाट बाहिरिएको ६ दिन भएको छ । ६ दिनसम्म कांग्रेसले मन्त्रीको नाम टुंगो नलागेका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । अहिले पनि कांग्रेसका प्रदेश सदस्यहरुहरू काठमाडौंमा सभापति देउवासहितका नेताहरूसँग छलफल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया