काठमाडौं । नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्नेभएको छ।
नेपथ्य छैठौं पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो। ब्याण्डले यसपालाको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरका भब्य मञ्चहरुमा आफूलाई प्रस्तुत गर्नेछ।
सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरमा आफूलाई उभ्याउने छ। अग्ला पर्वत, नदी र जंगलहरुले घेरिएको भूपरिवेष्ठित राज्यका रुपमा चिनिने कोलोराडोमा उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास छ।
यस स्थानमा नेपथ्यले पहिलोपटक साँगीतिक पाइला टेक्न लागेको हो। डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ।
त्यसपछिको दोश्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ। क्यालिफोर्निया राज्यको यसै सहरस्थित यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ।
तेश्रो प्रस्तुतिको निम्ति भने ब्याण्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ। त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्याण्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ।
त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ। उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो। यसपालि ब्याण्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफुलाई उभ्याउँदैछ। विशाल एवं भब्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरुलाइ अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्याण्डले लिएको छ।
त्यसपछि भने ब्याण्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ। अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाला भने बेग्लै हल ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरु पस्कने छ। त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ।
न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ। त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ१’ को प्रेक्षालयमा आफुलाई प्रस्तुत गर्नेछ।
यसरी अमेरिकाका फरक फरक सहरहरुमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ। ब्याण्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ। यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको श्रृंखलावद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ। झण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो।
नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डिसिमा आफुलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो। त्यसपछिका वर्षहरुमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा साँगीतिक प्रस्तुति दिइसकेको छ।
नेपालीरैबार । २०८१ श्रावण १३, आईतवार