काठमाडौं। पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो ।
भारत सरकारले चामल र दलहनलगायतका खाद्य वस्तु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुुललगायतका कारण पछिल्ला दिनमा नेपालका व्यापारीले आफूखुसी रूपमा मौज्दात रहेका चामल र दलहनमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् ।
नेपाल खुुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्काका अनुसार पछिल्लो एक महिनामा चामल, दहलन, खाने तेल, आटालगायत सबैको वस्तुुको भाउ महँगो भएको छ । थोकमा चामल, दाल, गेडागुडी, आँटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उनले हिजो बेचिरहेको वस्तुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था नरहेको छ।
नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल खाद्यवस्तुुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा एक सय रुपियाँ बढेर आएको छ ।
नेपालमा चामल, दलहन चिनी, तेललगायतका वस्तु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर परेको सङ्घले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यवस्तुुका थोक व्यापारीले चामल र दलहनको मूल्य बढ्नुको कारणबारे अध्ययन गरिरहेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलले पछिल्लो पटक भारत सरकारले नेपालमा चामललगायतका खाद्य वस्तु निर्यात गर्न अतिरिक्त भन्सार महसुल २० प्रतिशत बढाएसँगै खाद्य वस्तु चामल, दाललगायतको भाउ बढेको अनुगमनका क्रममा पाइएको बताए ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतले चामल, दलहनलगायतका वस्तुको निर्यातमा कडाइ गर्दै ती वस्तुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आमनेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको बताए ।
भारत सरकारले यी वस्तुको निर्यात नेपाल, श्रीलङ्का, माल्दिभ्समा पनि निर्यात गर्दै आएको भए पनि भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ ।
नेपालीरैबार । २०८१ श्रावण १४, सोमबार