काठमाडौं । भारतको हिमाचल प्रदेशमा वर्षापछि ठुलो बाढी आउँदा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरूका अनुसार दुई ठाउँमा बादल फुटेपछि (क्लाउड ब्रस्ट) ठुलो क्षति भएको बताइएको छ ।
बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ।
मध्यरातमा बर्षासहित बादल फाटेपछि ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको सङ्ख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ ।
अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न नै कठिन भएको उल्लेख गरिएको छ ।
नेपालीरैबार । २०८१ श्रावण १७, बिहीबार