फोक्सोको क्यान्सरका लक्षण्हरु

काठमाडौं। क्यान्सरका कारण विश्वभर हुने मृत्युमा फोक्सोको क्यान्सर प्रमुख कारणका रूपमा रहेको छ । क्यान्सर चाहे जस्तोसुकै होस् यसलाई प्रारम्भिक चरणमै पहिचान गर्न सकियो रोग निको हुने सम्भावना धेरै बढ्छ । फोक्सोको क्यान्सर गम्भीर रोग हो ।


फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाले पछि क्यान्सर हुन्छ । सुरुआतमा यसका लक्षणहरू अति नै सामान्य हुन्छन् । त्यसैले पनि यसलाई पहिचान गर्न गाह्रो हुन सक्छ । तर हाम्रा शरीरमा देखिने केही प्रारम्भिक लक्षणहरूलाई ध्यान दिएर हेर्ने हो भने क्यान्सरको पहिचान गर्न सकिन्छ ।

लगातार खोकी
कुनै व्यक्तिलाई लामो समयदेखि खोकी लागेको छ र यो समय बित्दै जाँदा खोकी पनि बढ्दै गएको छ भने यो फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ । खासगरी खोकीसँगै रक्तश्राव पनि सुरु भएको छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुस् ।

सास फेर्नमा कठिनाई
फोक्सोमा ट्युमर बढ्दा श्वास नलीमा रुकावट आउन सक्छ । जसले गर्दा सास फेर्न गाह्रो हुन सक्छ । सामान्य गतिविधि गर्दा वा आराम गरिरहेको समयमा पनि सास फेर्न गाह्रो महसुस गरिरहनु भएको छ भने यो चिन्ताको विषय हुन सक्छ ।

छातीमा दुखाई
फोक्सोको क्यान्सरले छातीको दुखाइ निम्त्याउन सक्छ । गहिरो सास फेर्दा, खोक्दा वा हाँस्दा छातीको दुखाई झन् बढ्न सक्छ । निरन्तर छाती दुखिरहने वा दुखाई तीव्र हुने पनि फोक्सो क्यान्सरको लक्षण हुन सक्छ ।तौल घट्दै जाने र भोक नलाग्ने
कुनै स्पष्ट कारण बिना नै तौल घट्नु र भोक नलाग्नु पनि फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ । यस्तो चाँहि शरीरमा क्यान्सर कोशिकाहरूको कारण हुन सक्छ ।

थकान
असामान्य थकान महसुस गर्नु अनि आराम गर्दा समेत थकान महसुस हुन छाड्दैन भने यो फोक्सोको क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ । क्यान्सर कोशिकाहरूको कारण शरीरको ऊर्जा स्तरमा कमीको कारण जतिबेला पनि थकान महसुस भइरहन सक्छ ।

निमोनिया वा ब्रोंकाइटिस
फोक्सोको क्यान्सरले बारम्बार फोक्सोको संक्रमण, जस्तै निमोनिया वा ब्रोन्काइटिस निम्त्याउन सक्छ । यदि तपाईँलाई पनि बारम्बार फोक्सोको संक्रमण भइरहेको छ भने क्यान्सरको संकेत हुन सक्छ ।

आवाजमा परिवर्तन
फोक्सोको क्यान्सरका कारण आवाज पनि फेरिन सक्छ । यसका कारण केहीमा आवाज भारी वा कर्कश हुने समस्या देखिन सक्छ ट्युमरले भोकल कर्डहरूमा दबाब दिएपछि यस्तो हुन सक्छ ।

तपाईँहरूमध्ये कसैमा यस्ता लक्षणहरू देखिएको छ भने एक पटक डाक्टरसँग परामर्श गर्नुहोस् । शुरुआती चरणमै क्यान्सरको पहिचान र निदानले फोक्सो क्यान्सरको उपचारलाई अझ प्रभावकारी बनाउन सक्छ र बिरामीको बाँच्ने सम्भावना बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया