कर्णालीका मुख्यमन्त्री कँडेललाई दोस्रो पटक विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । २७ चैत २०८० मा नेकपा माओवादी केन्द्रको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका थिए ।

४० सदस्यीय प्रदेशसभामा सत्ता गठवन्धनका पक्षमा स्वतन्त्रसहित २३ जना प्रदेश सभा सदस्यहरुले मतदान गर्नुभएको थियो । मतदानमा ३७ जना प्रदेश सभा सदस्यहरु सहभागी भएकोमा विपक्षमा १४ मत परेको थियो । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक/एक प्रदेश सभा सदस्यहरु छन ।

कांग्रेसका १४ प्रदेश सभा सदस्य मध्ये संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा प्रदेश सभा सदस्य सन्तोषी शाही अनुपस्थित भए । अख्तियारले बाइडबढी खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि शाही अहिले निलम्बनमा छन ।

 

तपाईको प्रतिक्रिया