कर्णालीमा ज्यान गुमाएका परिवारलाई छ करोड राहत

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपत्का घटनामा परी ज्यान गुमाएका परिवारलाई छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बिमाबापत छ करोड ८८ लाख रुपियाँ राहत स्वरूप उपलब्ध गराएको हो ।

पहिलो चरणमा विभिन्न प्राकृतिक विपत्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बिमाबापत एक करोड १८ लाख रकम प्रदान गरिएको थियो । प्रतिव्यक्ति दुई लाख रुपियाँका दरले दोस्रो चरणमा ४७ जनालाई ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई एक करोड ३२ लाख र चौथो चरणमा १७२ जनालाई तीन करोड ४४ लाख रुपियाँ बिमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त रकम राष्ट्रिय बिमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।

मन्त्रालयले गत आर्थिक वर्ष २०८०र८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी जस्ता प्राकृतिक विपत्बाट मृत्यु भएका १७१ जनाका परिवारलाई तीन करोड ४२ लाख भुक्तानी गरेको छ । विशेष गरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका १५१ व्यक्तिका परिवारलाई दुई लाखका दरले तीन करोड रकम बिमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए ।

उनका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीन जनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ । त्यसै गरी गत वर्ष भूकम्पबाहेक अन्य विपत्मा परी मृत्यु भएका २० जनाका परिवारलाई ४० लाख रकम बिमामार्फत भुक्तानी गरिएको छ । कर्णालीका १७ लाख व्यक्तिको विपत् सामूहिक दुर्घटना बिमा गरे अनुसार बिमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया