काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरूले बनाएको भ्रष्टाचारीहरूको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् ।
सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरूमा आतङ्क सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरू सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरूलाई आफ्नो प्रतिनिधिको रूपमा सिँगार पटार गरेर पठाएका हुन् । अहिलेको सरकार बिचौलियाहरूले बनाएको भ्रष्टाचारीहरूको सरकार हो ।’
पछिल्लो पटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंषघोष गरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भने– ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिँदैन, जनता र राष्ट्रको समृद्धि सम्भव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारबाही अभियान सुरु गरिएको हो ।’
चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फी रुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा सङ्गठित गरेर श्रमिक र उनीहरूका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौँ नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्त्वपूर्ण थालनी गरिएको आफ्नो कार्यकालमा गरिएको उनले स्पष्ट गरे ।
नेपालीरैबार । २०८१ भाद्र ९, आईतवार