जस लिने होडबाजी

कर्णालीमा दसौँ खेलकुद : पूर्वाधार देखाएर अनिश्चिततातर्फ धकेल्दै सरकार

सदस्य सचिव हटाउने ‘प्रपञ्च’, दबाब बढाउँदै मुख्यमन्त्री

सुर्खेत । आगामी मङ्सिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुने सम्भावना न्यून देखिएको छ । सरकार पक्षधरहरु नै प्रतियोगिता समयमा हुन नदिने खेलमा लागि परेको छन् । सरकार पक्षधर नेताहरु सदस्य सचिवलाई तर्साउन खेल पुर्वाधार पुरा नभएको र त्यसको सुनिश्चितता भएपछि पुनः मिति तोक्नुपर्ने कार्ड फ्याकिँरहेका छन् । जबकि प्रदेश खेलकुद परिषद्ले पुर्वाधारका कारण प्रतियोगिता सार्नुपर्ने स्थिती नरहेको बताइरहेको छ ।

यो आयोजना राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने हो तर, कर्णालीमा हुने भएकाले कर्णाली सरकार, विशेषगरि प्रदेश खेलकुद् विकास परिषद्ले समयमा नै गर्ने गरी एक वर्षअघिदेखिनै अग्रसर भइरहेका थिए । जब नेपाली कांग्रेस–एमालेको गठबन्धनमा सरकार बन्यो, त्यसपछि सरकारको नेतृत्व तहमै रहेका नेताहरुले सार्वजनिक कार्यक्रममै समयमा नहुने सक्छ भन्दै भाषण गर्न थाले ।

त्यसो गर्नुका पछाडि सदस्य सचिव बदल्ने र प्रतियोगिताको जस लिने होडबाजी हो । अहिले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याललाई तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ल्याएका थिए । उनकै नेतृत्वमा राजधानी वीरेन्द्रनगरमा यतिठुलो गौरवको आयोजना—रङ्गशाला बन्यो । अहिलेसम्म ९२ प्रतिशत काम भइसकेको छ भने असोज महिनाभित्र काम सम्पन्न गरिसक्ने लक्ष्य छ ।

कर्णाली सरकारको तर्फबाट छिटो निर्माण भएको एक मात्र ठुलो आयोजना हो, यो । यसको श्रेय तत्कालीन गठबन्धन (माओवादी–कांग्रेस) र सदस्य सचिव सञ्ज्यालले पाउने नै भए । सञ्ज्याल सदस्य सचिव भएर आएदेखिनै कर्णालीमा खेल गतिविधि र खेल पुर्वाधारका कामहरु अघि बढे ।

तर अहिलेका मुख्यमन्त्री यामलाल कँडेल सञ्ज्यालप्रति सकरात्मक नभएको भदौ १ गते दसौँ खेलकुदको लागि सरोकारवालासँग गरिएको छलफल कार्यक्रममा दिएको मन्तव्यले प्रष्ट पार्छ । कँडेलले विषय भन्दा बाहिर गएर तयारीको लागि परिषद्का सदस्य सचिवले बजेट माग्न अन्त नधाउन, केही काम पर्दा आफुलाई मात्र सोध्न र प्रतियोगिता समयमा हुन नसक्छ भन्ने अभिव्यक्ति दिए ।

कँडेल उक्त खेलकुद प्रतियोगिताको जस आफु लिन चाहन्छन् । तर अहिले खेलकुद परिषद् रहेको सामाजिक विकास मन्त्रालय कांग्रेसले सम्हालेको छ भने सदस्य सचिव माओवादीको । कँडेलले यसअघि नेकपा एमाले–माओवादी गठबन्धन हुँदा पनि सामाजिक विकास मन्त्रालय आफुसँग राख्न चाहेका थिए भने कांग्रेस–एमाले गठबन्धन बनेपछि पनि उक्त मन्त्रालय आफुसँग राख्न चाहेका थिए । तर कांग्रेस, माओवादी दुबैले मानेनन् ।

यद्यपि अहिले कि सदस्य सचिव हटाउने र नभए सदस्य सचिवको कार्यकाल सकिएपछि मात्रै आयोजना गर्ने तयारीमा अहिलेको सरकार छ । कँडेलले केही दिनअघि सुर्खेत आएका केन्द्रीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी समक्ष पुर्वाधारको सुनिश्चिता भएपछि प्रतियोगिताको मिति तोक्न सुझाव नै दिए । कँडेलले नै त्यसो भनेपछि चौधरीले पनि पुर्वाधारको सुनिश्चितता भएपछि मात्र प्रतियोगिताको मितिबारे छलफल गरिने जवाफ दिए ।

यति मात्र होइन्, मुख्यमन्त्री कँडेलले प्रदेश खेलकुद परिषद्ले १०० दिने काउन्टडाउन सुरु गरेको कामप्रति समेत विरोध जनाए । प्रदेश खेलकुद परिषद्ले केन्द्र सरकार, राखेपलाई समयमै दसौँ खेलकुद प्रतियोगिता गर्न दबाब दिने उद्देश्यसहित १०० दिन बाँकी रहेको दिनमा काउन्टडाउन सुरु गरेको थियो ।

उक्त दिन प्रतियोगिता गर्दा कर्णालीमा खेलाउन सकिने खेल तालिका सार्वजनिक गरिएको थियो भने तयारी तिव्र बनाउन अभियानका सुरु भएको सन्देश दिएको थियो । तर मुख्यमन्त्री कँडेलले त्यसको विरोध जनाए । भने, ‘यो आयोजना प्रदेश सरकारले गर्न लागेको हैन, केन्द्र सरकारले लिन लागेको हो । बजेट माग्दै ठाउँ–ठाउँ धाउन आवाश्यक छैन, दिन गन्ने कुरामा नलाग्नुहोस् ।’ कँडेलको उक्त अभिव्यक्तिपछि नै दसौँ खेलकुद समयमा नहुने आशंका पैदा भएको हो । मुख्यमन्त्रीले सदस्य सचिवलाई कार्यमा असहयोग गर्नुले कि समयमा प्रतियोगिता नगर्नु कि सदस्य सचिव हटाउने सन्देशका रुपमा माओवादीले बुझेको छ ।

माओवादीले सदस्य सचिवलाई हटाउन कँडेलले खेल खेलिरहेको बताइरहेको छ । सुर्खेतबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सांसद नरबहादुर विष्टले खेलकुद आयोजना समयमा हुन नदिने गरी सदस्य सचिवलाई बर्खास्त गर्न सरकार नै लागिरहेको भन्दै विरोध जनाए । उनले मंसिर २ गतेबाट नै प्रतियोगिता सञ्चालन गर्नेगरी सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई भन्छन्, ‘मुख्यमन्त्री र एमाले दसौँ राष्ट्रिय खेलकुद समयमा नगर्ने भन्ने पक्षमा होइन्, व्यवस्थापन गर्न आवश्यक बजेट, पुर्वाधार लगायतको व्यवस्थापन अलि पुग्दैन कि भन्ने हो ।’
सदस्य सचिव भन्छन्—‘पुर्वाधारका कारण प्रतियोगिता रोकिने स्थिती छैन’

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सञ्ज्याल पुर्वाधारका कारण प्रतियोगिता नरोकिने बताउँछन् । ‘पुर्वाधारको कारणले प्रतियोगिता रोकिन्न, संघीय मन्त्री आएर १५ दिनको प्रगति हेरेर कार्ययोजना बनाइ अघि बढिएको छ,’उनले भने, ‘हामीले आयोजना गर्नसक्ने खेल २४ वटा जति हो । त्यसका लागि पुर्वाधार छँदै छ । त्यसको सामान्य मर्मत गर्ने काम मात्रै हो ।’

उनका अनुसार निर्माणाधीन रङ्गशालाको काम सकेर पनि कर्णालीका खेलाडीले केही महिना त्यहाँभित्र तालिम गर्न पाउनेछन् । यो रङ्गशालाभित्र १६ वटा खेल खेल्न सकिने उनले बताए । त्यस बाहेकका खेलका लागि पनि अन्य केही खेल मैदान बनिसकेका छन् ।

आयोजना राखेपको भएपनि प्रदेश खेलकुदबाट समयमा गर्नका लागि आफुहरुले तयारी तिव्र पारिरहेको उनको भनाइ छ । १० हजार दर्शको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने बाहेकको भौतिक संरचनाको कामहरु सबै सकिएको छ । उनी भन्छन्, ‘पुर्वाधारका कारणले सार्नुपर्ने, सर्नुपर्ने स्थिती रहँदैन, अरु कुनै कारणले सार्ने हो भने थाह भएन ।’

सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया