प्रदेश अस्पताल सुर्खेतमा क्यान्सरको उपचार हुने

सुर्खेत । प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर बिच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ । संघीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४–२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो ।

मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेल र प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्का बिच सेवा विस्तार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सरकारको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने जिम्मेवारी तोकेको थियो । रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयले कार्यविधिसमेत पारित गरिसकेको छ । सुर्खेतमा सेवा विस्तार हुने भएसँगै कर्णाली प्रदेशका नागरिकलाई क्यान्सरको उपचार गर्न अन्यत्र जानुपर्र्ने बाध्यताको अन्त्य प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया