गुटु स्वास्थ्य चौकीको भवन डेढ दशक नाघिसक्दा पनि निर्माण सम्पन्न भएन्

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८, गुटुस्थित गुटु स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको डेढ दशक नाघिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । स्वास्थ्य चौकीसम्बन्धीको विषयमा ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेपछि भवन निर्माणको काम अलपत्र भएको हो । उक्त भवनको निर्माण कार्य २०६३ सालदेखि थालिएको थियो ।

१८ वर्ष बितिसक्दा पनि भवन अलपत्र भएपछि यहाँका स्थानीय बासिन्दाको स्वास्थ्य सेवा प्रभावित भएको छ । अहिले जीर्ण घरबाट सेवा दिने काम भइरहेको छ । चौकीमा कार्यरत स्वास्थ्य निरीक्षक गगन पाण्डेले १८ वर्षदेखि स्वास्थ्य चौकीको भवन अलपत्र पारिनु दुःखद भएको बताउँदै जतिसक्यो छिटो काम सुरु गरी भवन निर्माण गर्न आग्रह गरे ।

पाण्डेले सामाजिक सञ्जालमा लामो गुनासो पोख्दै भवन निर्माणको काम ८० प्रतिशत सकिएपछि ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेपछि भवन अलपत्र परेको जनाएका छन् । भवनका पिल्लर तथा छड खिया लागिसकेका छन् ।

भवनमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा परेको र त्यसपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट ठेकेदार कम्पनीको विपक्षमा फैसला आएपछि ठेकेदार कम्पनी सर्वोच्च अदालतमा पुगेको थियो ।

सर्वोच्च अदालतले पनि गत असार १२ गते फैसला गरेको जनाइएको छ तर अदालतको पूर्ण पाठ आइसकेको छैन । यो अवधिमा भवन निर्माण गर्ने निर्माण व्यवसायी राजविन्द्रप्रताप सापकोटाको मृत्यु भइसकेको छ । त्यसबेला भवन निर्माणको लागत अढाई करोड रुपैयाँ थियो ।

जनस्वास्थ्य निरीक्षक पाण्डेले नयाँ भवन नबन्दा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताउनुभयो । सरकारी मापदण्ड अनुसार भवन निर्माण नभएको भन्दै निर्माण व्यवसायीविरुद्ध मुद्दा परेको थियो । त्यही मुद्दाका कारण भवन निर्माणको काम हालसम्म अलपत्र परेको हो । अहिले पुरानै चर्केको घरबाट स्वास्थ्य सेवा दिइरहेको उनले बताए। पानी परेका बेला कोठाहरू चुहिने गरेका छन् । एउटै कोठामा तीनरचार प्रकारका सेवा दिइरहेकाले सुत्केरी सेवा प्रभावित भएको छ ।

चौकुने गाउँपालिकाले सर्वोच्च अदालतबाट सरकारका पक्षमा फैसला भएको र त्यसको पूर्ण पाठ आएपछि अगाडि बढ्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष खड्क विकले ढिलै भए पनि सर्वोच्चबाट फैसला भएको र पूर्ण पाठ आएपछि बल्ल वास्तविकता अवस्था पत्ता लाग्ने बताए। उनले भवन अलपत्र पर्दा करोडौँको सम्पत्ति जीर्ण हुन पुगेको भन्दै अब पूर्ण पाठ आएपछि त्यसका आधारमा पालिकाले कदम चाल्ने उल्लेख गरे ।

पश्चिम क्षेत्रका बासिन्दाले सुविधासम्पन्न भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा पाऊन् भनेर भवन निर्माण सुरु भएको थियो । उनले अदालतबाट फैसला आउन ढिलाइ गरेपछि पालिकाका तर्फबाट निवेदन दर्ता गराएको र तत्काल असार १३ गते फैसला भएको जिकिर गरे । अदालतको पूर्ण पाठ आएपछि त्यसलाई हेरेर काम पूरा गर्ने भएमा यसै आर्थिक वर्षभित्र बाँकी संरचना पूरा गरी सञ्चालनमा ल्याइने अध्यक्ष विकले बताए।

जीर्ण भवन अलपत्र छ । यहाँ स्वास्थ्य सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन् । खोप, उपकरण तथा औजार राख्ने गतिलो ठाउँ छैन । बाहिरै सुत्केरी गराउनुपर्ने अवस्था छ । यो अवस्था अब धेरै रहन नदिने भन्दै उनले आफूहरू अदालतको पूर्ण पाठको प्रतीक्षामा रहेको जनाए ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वास्थ्य सेवा स्थानीय तहमा गएकाले पालिका तहबाट व्यवस्थापन गर्नुपर्ने जनाएको छ । विगतमा कार्यालयले भवन निर्माणको काम अगाडि बढाउन पत्राचार गरिरहेको तर पछि स्थानीय तहमा स्वास्थ्य सेवा गएकाले उतैबाट यसको निक्र्योल निकाल्न सुझाव दिएको कार्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया