प्रदेश राजधानीकै सडक निर्माणमा छैन् रफ्तार

सुर्खेत। कर्णाली प्रदेश राजधानी सहरी सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । सडक निर्माण कार्य तोकिएको समयमा पूरा नहुने भएको हो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण काममा ढिलाइ भइरहेको छ । वीरेन्द्रनगरका १५ वटा सडकलाई प्याकेजमा स्तरोन्नतिको कार्य थालिएको थियो । तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले प्रदेश राजधानी सहरी सडक निर्माणका लागि कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । २०७८ भदौ १७ गते विभिन्न १५ वटा सडकखण्डमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । १२ करोड ९४ लाख ३६ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले बताए ।

उनका अनुसार ठेक्का सम्झौता भएको तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको उनको भनाइ छ । निर्देशनालयले पहिलो पटक म्याद थप गरेको छ । सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन अनुसार उक्त निर्माण कम्पनीको म्याद थपिएको आचार्यले जानकारी दिए । निर्देशनालय र कन्स्ट्रक्सनबिच यी सबै सडक २०७९ फागुन २८ गतेसम्म निर्माण गरिसक्ने सम्झौता भएको थियो । तोकिएको मितिमा काम नभएपछि पहिलो पटक म्याद थप गरिएको जनाइएको छ । २०८० चैतमा पहिलो पटक म्याद थप भएको हो । २०८१ मङ्सिर २० गतेसम्मका लागि म्याद थप गरिएको निर्देशनालयले जनाएको छ ।

हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ भने ३० प्रतिशत वित्तीय प्रगति भएको छ । अझै ६६ प्रतिशत काम बाँकी नै छ । अहिलेसम्म ७९६ मिटर सडक कालोपत्रे भएको छ । चार सय मिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा रहेको जनाइएको छ । निर्माण कम्पनीले हालसम्म निर्देशनालयबाट तीन करोड रुपैयाँ लिएको छ । ५५ लाख बराबरको काम गरेको भुक्तानी निर्माण कम्पनीले पाएको छैन । नौ सय मिटर सडक कालोपत्रे गरेपछि मात्र भुक्तानी दिने निर्देशनालयले जनाएको छ ।

राजधानीका सहरी सडक निर्माणका लागि चालु आवमा सरकारले न्यून मात्र बजेट विनियोजन गरेको छ । चालु आव २०८१र०८२ मा सरकारले चार करोड मात्र बजेट विनियोजन गरिएकाले काम अगाडि बढाउन समस्या हुने निर्देशनालयले जनाएको छ । उक्त निर्माण कम्पनीलाई काम गरकै ५५ लाख रुपियाँ दिन बाँकी छ ।

प्रदेश राजधानी सहरी विकास कार्यक्रम अन्तर्गत नयाँ ठेक्का सम्झौता भएको छ । सुर्खेत विमानस्थल ढल व्यवस्थापन तथा सडक स्तरोन्नतिको कामका लागि नयाँ ठेक्का सम्झौता गरिएको हो । २०८१ असारदेखि २०८२ चैतसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो ।

पूर्वाधार विकास निर्देशनालय र न्यु दीपक निर्माण कम्पनी सुर्खेतबिच पाँच करोड ९४ लाखमा नाला निर्माण र सडक स्तरोन्नतिको कामका लागि ठेक्का सम्झौता गरिएको हो । अहिले पूर्वाधार निर्माणको काम धमाधम भइरहेको निर्देशनालयका निमित्त निर्देशक उआचार्यले बताए । उनका अनुसार राजधानी सहरी विकास कार्यक्रम अन्तर्गत नै काम सुरु गरिएको हो । एक हजार दुई सय मिटर सडक स्तरोन्नति तथा नाला निर्माण गरिने छ ।

तपाईको प्रतिक्रिया