वीरेन्द्रनगरमा दूषित पानी बिक्रीवितरण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका केही व्यापारीहरूले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गरेको पाइएको छ । नगरमा रहेका अधिकांश पानी व्यवसायीले जनस्वास्थ्यको ख्याल नै नगरी पानी बिक्रीवितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गर्ने नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वीरेन्द्रनगरका पानी उद्योगहरूले दूषित पानी बिक्रीवितरण गर्ने गरेको पाइएको हो ।

वीरेन्द्रनगर– २ मा रहेको तिला कर्णाली पानी प्रशोधन उद्योगले पानीका बोतल तथा जारमा प्याकिङ गर्नुअघि यूभी (अल्टा भ्वाइलेट लाइट, यसले पानीमा रहेका हानिकारक जीवाणु मार्दछ) बिनै प्रशोधन गर्ने गरेको अनुगमनका क्रममा पाइएको छ । वीरेन्द्रनगरमा सञ्चालित एकाधबाहेक अधिकांशले बोतल र जार भर्ने/प्याकेजिङ स्थानभन्दा अघि यूभी मेसिन जडान नगरेको, बोतल भर्ने मेसिन मर्मत नगर्ने गरेको खाद्यको अनगुमनबाट भेटिएको छ ।

यस्तै, प्रशोधित पिउने पानी उत्पादन निर्देशिकामा तोकिएबमोजिम अभिलेख व्यवस्थापन, निर्देशिकाको चेक लिस्ट भर्ने तथा अन्य अभिलेखसहित उद्योगको अनुज्ञापत्र नवीकरण लगायतका काम पनि नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख क्षितिज श्रेष्ठल जानकारी दिए ।

यस्तै, वीरेन्द्रनगर–३ मा रहेको जयश्री प्रशोधित पिउने पानी उद्योगले पनि यूभी मेसिनबिनै पानी बेच्ने गरेको छ । यस उद्योगले पानी परीक्षण प्रयोगशालाका उपकरण मर्मत तथा व्यवस्थित गर्नतर्फ ध्यान नदिएको नियमित अनुगमनका क्रममा पाइएको छ । वीरेन्द्रनगर– १२,को मध्यपश्चिम वाटर एन्ड वेभरेज प्रालिमा पनि फिलिङ मेसिनअगाडिको यूभी मेसिनले काम नगरेको, प्रयोगशाला परीक्षण, उपकरण मर्मत सर्भिसको व्यवस्थित रेकर्ड नभेटिएको अनुगमनका क्रममा पाइएको छ ।

वीरेन्द्रनगर– १ मा रहेको कर्णाली प्रदेश वाटर एन्ड वेभरेज इन्डस्ट्रिजले अन्य उद्योगका जारहरू प्रयोग गर्ने गरेको छ । आफ्नो उद्योगको सफा र पारदर्शी जारको प्रयोग गर्नुको साटो यो उद्योगले लेबल अद्यावधिकसमेत गरेको छैन । कार्यालयले भदौ महिनाभरी नियमित बजार अनुगमन गरेको थियो ।

सोही क्रममा वर्षाको समयमा पिउने पानीको माध्यमबाट संक्रामक रोगहरू फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै कार्यालयले वीरेन्द्रनगरका सातवटा प्रशोधित पिउने पानी उद्योगहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा देखिएका त्रुटिहरू तत्काल सुधार गर्न निर्देशन दिइएको कार्यालय प्रमुख श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले नजिकिँदै गरेका चाडपर्वलक्षित अनुगमनलाई पनि तीव्रता दिइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया