वीरेन्द्रनगर वडा नं २ मा प्रथम खुला फुटबल र ब्याडमिन्टन प्रतियोगिता हुदै

सुर्खेत । वीरेन्द्रनगर वडा नं २ को कार्यालयको आयोजना तथा सामाजिक विकास युवा क्लबको समन्वयमा प्रथम खुला फुटबल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । विजयादशमी तथा दिपावलीको अवसरमा यही असोज १३ गतेदेखि फुटबल र ब्याडमिन्टन कप आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक तयारीमा जुटिरहेको क्लबले जनाएको छ । प्रतियोगिता वीरेन्द्रनगर २ ठौरीस्थित खेलमैदानमा हुनेछ । क्लबका समिर भण्डारीले प्रतियोगितामा सहभागी हुने खेलाडी, खेलसंस्थाहरुलाई आग्रह गरिएको जानकारी दिए ।

उनका अनुसार टिम दर्ता यही असोज ६ गते र टाइसिट वितरण १२ गते हुनेछ । प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिनेछ । क्लबले टिमदर्ता शुल्क ५ हजार १ सय तोकेको छ । म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया