अन्तर्वार्ता

‘विकासपथमा लम्किएको गुराँस गाउँपालिका’

पालिकाका अध्यक्ष भन्छन्— मेरो कार्यकालमा आत्मनिर्भर गुराँस बन्ने छ, पुर्ण रोजगार भएको गाउँपालिका घोषणा गरिने छ ।

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी आफ्नो कार्यकालमा गुराँसलाई पुर्ण रोजगार भएको स्थानीय तहका रुपमा विकास गराइछाड्ने दाबी गर्छन् । साथै आफु अध्यक्ष भएर गाउँपालिकामा आएदेखि धेरै सुधारका कामहरु गरेको समेत बताउँछन् । नेकपा एमालेका तर्फबाट निर्वाचित भएका बिसीसँग गाउँपालिकामा भएका गतिविधि र भावी योजनाबारे नेपाली रैबारले कुराकानी गरेको छ ।

प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी सम्पादिक अंशः

तपाईं निर्वाचित भएको करिब तीन वर्ष हुनै लाग्यो, तीनवटा बजेट पनि ल्याउनुभयो, यो अवधिमा गाउँपालिकाको विकासका लागि के गर्नुभयो र चुनौतिहरु के–के रहे ?

बजेट बनाउने कुरामा नै चुनौतिहरु रहेछन् । बजेट बनाउँदाखेरी जनप्रतिनिधि र सेवाग्राहीहरुले आफु केन्द्रित बजेटको माग गर्छन् । संस्थागत रुपमा माग कमै हुने गरेको पाइयो । त्यसमा पनि साना–साना योजना माग हुने । त्यसमा बजेट विनियोजन गर्दा आउटपुट राम्रो नआउने हुन्छ । देखिने खालका र पुरा गर्न नसकिने मागहरु गाउँपालिकामा धेरै आउने गर्छन् । साधनस्रोतहरु हामीसँग सीमित छ, विकास बजेट भन्दा प्रशासनिक खर्च धेरै छ । गाउँपालिकामा ३५ प्रतिशत मात्रै विकास बजेट हुन्छ । उक्त बजेटले असीमित आवश्यकताको बिचमा राम्रो काम गर्नुपर्ने चुनौति हामीलाई छ । टुक्रे योजनाले परीणाम निकाल्न सकिँदैन । यो कुरालाई मध्यनजर गरेर चालु आर्थिक वर्षदेखि ५ लाख भन्दा तलका योजना बनाएका छैनौँ । तर वडाध्यक्षज्यूहरुले म सँग असन्तुष्टि देखाउनुभयो ।

यद्यपि ५ लाख भन्दा तलका योजनाहरु कार्यान्वयनमा गएका छैनन् । समर्गमा देखिने र प्रभावकारी कामका लागि अलि ठुला महत्त्वपुर्ण कामहरु गर्नु पर्ने रहेछ भन्ने सिकाई भएको छ । प्रशासनिक भवनलाई व्यवस्थित गरेका छौँ । यद्यपि अझै पुगेको छैन । केही शाखाहरु अन्य ठाउँहरुमा राख्नु परेको छ ।

भनेपछि तपाईंको कार्यकालमा अर्को प्रशासनिक भवन पनि बन्छ ?

बन्छ । त्योसँगै अन्य संरचनालाई बलियो बनाइ एकीकृत सेवा दिने तयारी गरेका हौँ । अर्को तपाईंले के–के काम गर्नुभयो ? भनेर भन्नुयो, झट्ट हेर्दा भौतिक विकास मात्रै विकास हो भन्ने बुझाइ छ, त्यसो होइन । भौतिक विकासका हकमा सबै ठाउँमा बाटाघाट पुगेका छन् । शिक्षाका संरचना बनेका छन् । अब हामीले मानव विकास सुचकाङ्कमा काम गर्नुपर्ने छ ।

त्यसमा पछि आउँला अहिलेसम्मको कार्यकालमा प्रशासनिक भवन बाहेक देखिने काम अरु के गर्नुभयो ?

८ मध्ये चार वटा वडा कार्यालयहरुका भवन बनाएका छौँ, टेलिफोन विस्तारतर्फ टेलिकमसँग मिलेर तीन वटा ठाउँमा टावर विस्तार गरिएको छ । अन्य दुई ठाउँमा बन्ने क्रममा छ । प्रत्येक ठाउँमा फाइबर नेटको विकास गर्ने काम भइरहेको छ । अहिले सबै कामहरु अनलाइनबाट गर्न मिल्छ । खेलकुद मैदानहरु बनेका छन् । भएका सडकलाई १२ महिनानै चल्ने बनाएका छौँ । विद्युत् सेवालाई थप व्यवस्थित गरेका छौँ । सामाजिक सुरक्षा भत्ता विरणलाई सहज बनाइएको छ । दुईवर्षअघिको गुराँस गाउँपालिका र अहिलेकोमा धेरै फरक छ । सबै सुचकाङ्कमा सुधार भएको छ । राम्रो प्रयास गरेकाले नै संघ–संस्थाहरुले पनि सहयोग गरिरहेका छन् भने सुशासनको मामिलामा राम्रो काम देखेर स्थानीय पुर्वाधार सहयोग कार्यक्रमले सहयोग गरेको छ ।

तर पनि तपाईँ यो अवधिमा विवादमुक्त रहनु भएन, पालिकालाई एमालेको भर्तिकेन्द्र बनाउनुभयो भन्ने आरोप छ नि !

त्यस्तो केही छैन । एमालेका साथिहरुले आफ्नै दलको नेता भएरपनि निकट व्यक्तिलाई हटाइदियो भन्ने उल्टो आरोप लगाइरहेका छन् । यदि त्यस्तो केही भए भन्नुप¥यो । प्रतिस्पर्धीको आधारमा नियुक्ति दिलाउने काम भएको हो ।

तर तपाईं किन तारो बन्नुहुन्छ नि ?

काम गर्न खोजेपछि त तारो भैहाल्छ नि, कि चुप लागेर बस्नुप¥यो । केही राम्रो गर्न खोज्दा रिस गर्नेहरु आरोप लगाउँछन् ।

अनि अध्यक्ष ज्यू, शिक्षा क्षेत्र कमजोर छ भनेर भन्नुभयो, सुधारको पहल के भइरहेको छ ?

एसइईमा जम्मा उत्तिर्णदर १८ प्रतिशत मात्रै छ, हाम्रोमा । त्यस कारण सुधार आवश्यक छ । शिक्षा शाखालाई विद्यालयका प्रधानाध्यापकलाई स्पष्टिकरण सोध्न निर्देशन दिएको छु । जुन विद्यालयको नतिजा निकै कमजोर आएको छ, त्यहाँको प्रअलाई स्पष्टिकरण सोध्ने र प्रअले सम्बन्धित विषयगत शिक्षकलाई सोध्ने । त्यसपछि के कारणले नतिजा कमजोर आयो भन्ने कुरा आउँछ । त्यसपछि मात्रै कमजोरी के हो र त्यसको सुधारको लागि योजना बनाइने छ । यदि शिक्षकको कमजोरी हो भने,

शिक्षाको गुणस्तरियता सुधारको लागि तपाईंको योजना के हो ?

शिक्षा क्षेत्रलाई जिम्मेवार बनाउनै पर्छ । त्यसका लागि हामीले सोचिरहेका छौँ ।

गुराँस गाउँपालिका कृषिका लागि हव क्षेत्र हो, त्यसलाई व्यवसायिक र उत्पादनमा बढवा दिन के गरिराख्नु भएको छ ?

हामीले कृषकलाई प्रोत्साहन दिइरहेका छौँ । उहाँहरुलाई आधुनिक मल, बीउ, यन्त्रहरु, व्यवसायिक कामको सहजताका लागि ट्याक्टर समेत वितरण गरिरहेका छौँ । सबैलाई त दिन सकिएको छैन, केहीलाई दिएका छौँ । ‘गुराँस कृषि क्षेत्र सुधार कार्यक्रम’ अन्तर्गत कृषिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

गाउँपालिकाले ३ करोड लगानी गरेर घोडाबासमा कृषि अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको छ । त्यहाँ कृषकलाई बोलाएर तालिम दिइन्छ । त्यसमा पशुपालन सम्बन्धी काम पनि भइरहेको छ । प्रत्येक वडामा कृषि र भेटनरीतर्फका १÷१ कर्मचारीलाई खटाएका छौँ । यहाँ जति उत्पादन हुन्छ, बजारीकरणको खासै समस्या छैन । आलु, काउली, गोपीसहित अन्य तरकारीहरु उत्पादनमा लाग्न पनि कृषकहरुलाई प्रोत्साहन गरिरहेका छौँ । गुराँस पर्यटकीय क्षेत्र पनि हो, त्यसैले अर्गानिक खेतीहरुलाई पनि जोड दिइरहेका छौँ । ‘ग्रिन कर्णाली, ग्रिन जव’ कार्यक्रम लागु गरेका छौँ, त्यसमा दातृ संस्थाको सहयोग छ । यहाँ ८ मध्ये दुईवटा वडामा मात्रै भारत जाने युवाहरुको संख्या धेरै छ, ती युवाहरुलाई कृषिमा जोड्ने प्रयास गरिरहेका छौँ । डेढ सय युवाहरुलाई अहिले च्याउ उत्पादन, बमौसमी तरकारी उत्पादनमा लाग्न प्रेरित गरिरहेका छौँ । हामीले एउटा ‘सिम्बोल’ का रुपमा काम गर्ने हो, त्यसपछि कृषकहरु प्रेरित भएर लाग्छन् ।

प्रदेश र केन्द्र सरकारको सहयोग कत्तिको पाउनु भएको छ ?

दैलेखका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक राजस्व संकलन गर्ने पालिका हाम्रो हो । त्यसमा कृषिको २५ प्रतिशत योगदान छ । केन्द्र र प्रदेशबाट जति सहयोग हुनुपथ्र्यो त्यो भएको छैन । प्रदेशलाई कृषिका लागि सहयोग माग्दा पनि पाइएन ।

तपाईंले ‘नमस्ते गुराँस’ कार्यक्रम ल्याउनुभयो, यसको उद्देश्य के हो ?

यो गुनासो व्यवस्थापन सम्बन्धी प्रणाली हो । यो एउटा एप्लिकेशन हो । तयार हुँदै छ । जनताका व्यापक सुझाव र गुनासाहरु हुन्छन् । ती गुनासा राख्न गाउँपालिकाको केन्द्रमा धाउने बाध्यता नहोस्, नागरिकहरुले सहज रुपमा फोन, टोलफ्रि नम्बर अथवा जुनसुकै विधिबाट पनि गुनासो टिपाउनुहुन्छ । ती गुनासाहरु एकीकृत गरेर रेकर्ड गरिन्छ । त्यसपछि कोसँग सम्बन्धित हो त्यही अनुसार गुनासोको सुनुवाई हुन्छ । साथै आएका सुझावहरुलाई एकीकृत गरेर पालिकाको विकास योजना बनाउनका लागु गरिने छ ।

अन्तमा, गुराँसलाई आफ्नो कार्यकालमा कस्तो बनाउन चाहनुहुन्छ ?

शिक्षामा सुधार गरिने छ । आधारभूत स्वास्थ्यको सहज उपलब्धता गराइने छ । आयुर्वेद अस्पताल पनि निर्माण गर्दै छौँ । गुराँस आयुर्वेद केन्द्रका रुपमा विकसित हुने छ भने आत्मनिर्भर गुराँस बनाइने छ । कृषिलाई आधार बनाएर पुर्ण रोजगार भएको गाउँपालिका घोषणा गरिने छ ।

तपाईको प्रतिक्रिया