कर्णालीबासीका दुःख उस्तै, गाउँमा केवल साइनबोर्ड मात्रै

सुर्खेत । स्थानीय सरकार गठन भएको साढे तीनवर्ष वित्यो । यो अवधिमा नागरिकले गाउँमा सिंहदरवार आएको अनुभूति गर्न सकेका छैनन् । न त नागरिकको त्यो अपेक्षलाई स्थानीय तहले पूरा नै गर्न सकेका छन् ।

बरु कर्णालीका अधिकांश स्थानीय तहका गाउँमा केवल साइनबोर्ड मात्रै छन् । ति स्थानीय तहले अहिले पनि जिल्ला सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन् । कर्णालीका विकट हुम्ला, डोल्पा, मुगु र जाजरकोठमा केही स्थानीय तहको काम अहिले पनि सदरमुकामबाटै हुन्छ । गाउँमा केवल स्थानीय तहका साइनबार्ड र कार्यालय सहयोगी मात्र छन् ।

सामान्य सिफारिसका लागि पनि यहाँका बासिन्दा जनप्रतिनिधि र कर्मचारी खोज्दै सदरमुकाम धाउन बाध्य छन् युगआह्वान दैनिकमा समाचार छ ।

गाउँमै रहेको वडा कार्यालयबाट पाइने सुविधा लिन पनि सर्वसाधारण हप्तौं पैदल हिडेर सदरमुकाममा रहेको स्थानीय तहका सम्पर्क कार्यालयमा धाउन बाध्य छन् । डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र काइके गाउापालिकाको सबै काम सदरमुकाम दुनैबाट हुन्छ ।
अधिकाँश वडा सचिवविहिन
स्थानीय तहमा कर्मचारीको अभाव कायमै छ । दुर्गममा कर्मचारी बस्न नमान्ने समस्याका कारण कर्णालीका अधिकांश वडाहरु सचिवविहीन छन् । जसले एउटै वडासचिवले एक दर्जन वडाको काम गर्नुपर्ने बाध्यता छ ।

धेरै वडाको काम एक्लैले गर्नुपर्ने भएकाले पनि वडा सचिवहरुले नागरिकलाई सेवा लिन सदरमुकाम बोलाउने र आफूले सम्पर्क कार्यालय खोल्ने गरेका हुन् । ११ वटै वडामा वर्षौदेखि एकजना सचिवले मात्र काम गरी रहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

यस्तै काइके गाउँपालिकामा पनि एकजना सचिवले सात वडा वडाको काम गरी रहेका छन् । डोल्पामा ६५ वडा वडाको काम २९ जना वडा सचिवले धानेका छन् ।

तपाईको प्रतिक्रिया