सुर्खेतका एक पुरुषको काठमाडौँमा हत्या गर्ने ३ जना पक्राउ

सुर्खेत। सुर्खेतका एक पुरुषको काठमाडौँको गोकर्णमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सुर्खेतको लेकबेँसी–२ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा–९ मा बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या अरोपमा प्रहरीले एक महिला समित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरको तुम्लिङ गाउँपालिका वडा न. ५ स्थायी वतन भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा न. १० कपन बालुवाखानी बस्ने बर्ष ३८ को अमृत मगर, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थायी घर भई हाल बुढानीलकण्ठ–१० कपन बस्ने बर्ष ३५ का भुवन श्रेष्ठ र ईलामको माई नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने बर्ष २७ की बिमला भट्टराई रहेका छन् ।

प्रहरीका अनुसार मृतक होम बहादुरलाई कुटपीट गरी उनीहरु भागेका थिए । अनुसन्धानका क्रममा उनीहरुले होमबहादुरलाई कुटपिट गरेको खुलेको थियो ।

होमबहादुर मंगलबार अपरान्ह गोकर्णेश्वर–६ नयाँ बस्तीस्थित सार्वजनिक स्थानमा सख्त घाइते अवस्थामा भेटिएका थिए । सूचना प्राप्त गर्नासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारार्थ नारायणटार स्थित शंखरापुर अस्पतालमा पठाईएको थियो ।

करिब ०३ः३० बजेको समयमा उपचारमा संलग्न चिकित्सकहरुले घाईते होम बहादुर फौजामगरलाई मृत घोषणा गरेका थिए । पक्राउ परेको तीनैजना अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । घटनाबारे थप अन्ुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया