राजनीतिक पूर्वाग्रह र जालझेलको विरुद्ध उभिन जनतालाई रास्वपाको आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ । शुक्रबार बेलुकी लामिछाने पक्राउपछि कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सभापति पक्राउप्रति घोर भर्त्सना गरेको जनाएका छन् । संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापति माथि धरपकड गरिनु गलत भएको रास्वपाको ठहर छ ।

न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको अवस्थामा राजनीतिक प्रतिशोधको कार्य कदापि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ’ विज्ञप्तिमा भनिएको छ, ‘तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन ।’

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत रास्वपाले आरोप लगाएको छ। ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् हामी डराएका छैनौँ, तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ’ विज्ञप्तिमा भनिएको छ । उसले राजनीतिक जालझेलको विरुद्ध उभिन समेत जनतालाई विज्ञप्तिमार्फत आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया