कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यर्थाीलाई प्रधानमन्त्रीले दिक्षित गर्दै

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज जुम्लामा हुँदैछ । समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुनेछन् ।

स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएस १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुँदैछन् । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा सहभागी हुने प्रतिष्ठानले जनाएको छ । समारोहका लागि प्रधानमन्त्री ओली जुम्लातर्फ जहाजमार्फत पस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

यस्तै, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका उपकुलपती डा. मंगल रावतले जानकारी दिए ।

दीक्षान्त समारोह पश्चात प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ । यसअघि गत २३ भदौ मा तय गरिएको दीक्षान्त समारोह कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीको कार्यव्यस्तताको कारण स्थगन भएको थियो ।

तपाईको प्रतिक्रिया