चाडपर्व नजिकिदै गर्दा राेजगारीका लागि रित्तिदै कर्णालीका गाउँ

सुर्खैत । विगतका वर्षहरुमा असोज लागेपछि गाउँघरमा मानिसहरुको चहलपहल बढ्न सुरु हुन्थ्यो । भारत तथा अन्य तेस्रो मुलुकमा पसिना बगाउन गएका हजारौँ नेपाली स्वदेश फर्कीन्थ्ये । तर यो बर्ष ठिक उल्टो भएको छ ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई ध्यानमा राखेर गएको चैत्र बैशाखमा स्वदेश फर्कीएका हजारौँ नेपाली फेरी परदेश नै फर्कीन थालेका छन् । असोज लागे संगै नेपालीहरुका महान चार्डहरु दशै तिहार नजिकिए पनि रोजगारीको लागि परदेश लागेका हुन । हाल दशै तिहारको लागि घर फर्कीनेको संख्या भन्दा तिन गुणा बढि मानिसहरु विदेशी रहेका छन् । हाम्राे नयाँ नेपाल दैनिकमा समाचार छ ।

कोरोनाका कारण लामो समय सम्म गाउँघरमा बेरोजगार बस्दा घर परिवार चलाउन मुस्किल भएकाले चार्डवाडको समयमा भारत जानु परेको दैलेखको भैरवी गाउँपालिका–२का चेतन भण्डारीले बताए । भारतको गुजरात जाँदै गर्दा सुर्खेत बसपार्कमा भेटिएका भण्डारीले यसपालीको दशै तिहारमा घर फर्कीन नसक्ने बताए । भण्डारी संगै एउटै शहरमा काम गर्ने रामबहादुर थापा, जनकबहादुर थापा लगायत १०, १२ जनाको टोली यस अघि नै भारतको गुजरात पुगिसकेको उनको भनाई छ ।

‘घर परिवार भारतकै रोजगारीबाट चलेको छ,’ उनले भने, ‘यसरी लामो सयम सम्म गाउँघरमा खाली बस्दा ऋण समेत लागेको छ । घर परिवारको लागि आवश्यक समाग्री किन्न मुस्कील भएको छ ।’ अब एक बर्ष सम्म भारतमै बसेर पैसा कमाएर आएर नेपालमा नै केहि गर्ने योजना रहेको उनले सुनाए । उनी जस्तै सुर्खेतको बसपार्कमा दैनिक सयौँको संख्यामा भारतजाने मानिसहरु भेटिन्छन् ।

कोरोनाकै माहामारीमा स्वदेश फर्कीएका दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८का झलकबहादुर शाही पनि भारत जाने तयारीमा छन् । गाउँघरमा भएका १५, २० जनाको समूह यस अघि नै गइसकेकाले आफु पनि अब एक दुई दिनमा जाने हुनेको भनाई छ । उनीहरु जस्तै कोरोनाको माहामारीमा हजारौँको संख्यामा स्वदेश फर्कीएका मानिसहरु त्यसरी नै पुन फर्कीरहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका अनुसार नेपालामा लकडाउन भएयता कर्णाली प्रदेशको प्रमुख नाका बबईबाट मात्रै ७० हजार भन्दा बढि मानिसहरु भारतबाट फर्कीएका छन् भने दुई हजार भन्दा बढि तेस्रो मुलुकबाट फर्कीएका छन् । तर ति फेरी ठूलो संख्यामा परदेश नै फर्कीन थालेका हुन । भारतबाट फर्कीएकाहरु मध्ये हाल करिव ५० प्रतिशत पुन भारत नै फर्कीएको सामाजिक विकास मन्त्रालयको अनुमान गरहेको छ ।

दैलेखको भैरवी गाउँपालिका उपाध्यक्ष पदमकुमारी बिष्टले गाउँपालिकामा भारतबाट फर्कीएका ८० प्रतिशत भन्दा बढि मानिस पुन भारत नै फर्कीएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया