कर्णालीमा बढ्दै जटिल प्रकृतिका कोरोना संक्रमित

सुर्खेत । पछिल्लो समय लकडाउनलाई पूर्ण रुपमा खुकुलो पारिएको छ । कोरोना संक्रमण नरोकिएको पनि ६ महिनापछि आवागमनमा सहज पारिएको हो । अवस्था सहज बनाउन व्यापार व्यवसाय, लामो दुरीका यातायात र विद्यालयहरु खुल्न थालेका छन् ।

तर लकडाउन खुकुलो भएसँगै कर्णालीमा कोरोना संक्रमणको दर भने दिन प्रतिदिन उकाले लाग्दै गएको छ । सुरक्षा र सावधानीका उपायहरु पुर्णरुपमा पालन गरिएको छैन्् । जसकारण कर्णाली प्रदेशमा पनि संक्रमणको दर बढ्दै गएको हो ।

सहज आवागमनपछि जटिल प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको छ । कर्णाली प्रदेशमा हाल १८ जना जटिल प्रकृतिका संक्रमितहरु आइसीयूमा उपचाररत छन् । १८ जना नै प्रदेश अस्पताल सुर्खेतको आइसीयू कक्षमा छन् । प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डा. नवराज केसीकाअनुसार संक्रमितमध्य तीन जनाको अवस्था गम्भीर छ ।

उनीहरु लामो समयदेखि दीर्घरोगी र वृद्धहरु छन् । यसअघि प्रदेश अस्पतालको आइसीयूमा राखिएका ४० जना उपचारपछि घर फर्किएका छन् । युगआह्वान दैनिकमा समाचार छ ।

‘लकडाउन खुकुलो भएसँगै जटिल प्रकृतिका संक्रमित बढेका छन्,’ डा. केसीले भने, ‘अझै तीन महिनासम्म संक्रमणको दर उच्च हुन्छ ।’ दशैँ र तिहारमा संक्रमित क्षेत्रबाट आउनेहरुको संख्या बढ्दा संक्रमणको दर उच्च हुने उनको भनाई छ ।

कर्णाली प्रदेशका अन्य जिल्लाको तुलनामा सुर्खेतमा संक्रमणको दर उच्च छ । चहलपहल बढी हुने भएका कारण वीरेन्द्रनगरमा संक्रमणको दर उच्च रहेको हो । पछिल्लो समयमा वीरेन्द्रनगरमा संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालको आइसोलेसन कक्षसमेत भरिन थालेको छ ।

डा. केसीकाअनुसार हाल प्रदेश अस्पतालको आइसोलेसनमा मात्रै ६० जनाभन्द्या बढी संक्रमित छन् । संक्रमित बढ्दै गएपछि लक्षण भएकालाई मात्रै अस्पतालको आइसोलेसनमा राख्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया