आइपिएलको अर्को रोमाञ्चक खेलमा मुम्बईमाथि बेंग्लोरले निकाल्यो सुपर ओभरमा जित

काठमाडौं । आइपिएल क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सबीचको खेलमा स्कोर बराबरी भएको छ ।

सोमबार राति पहिले ब्याटिङ गरेको बेंग्लोरले ३ विकेटको क्षतिमा २०१ रनको विशाल योगफल तयार गर्‍यो । जवाफी ब्याटिङ गरेको मुम्बईले पनि २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन नै जोडेपछि स्कोर बराबरी भएको थियो ।

त्यसपछि भएको सुपर ओभरमा बेंग्लोरले मुम्बईलाई पराजित गर्‍यो। जारी आइपिएलमा सुपर ओभरमा पुगेको यो दोस्रो खेल हो । यसअघि दिल्ली क्यापिटल्स र किंग्स(११ पञ्जावबीचको खेलमा पनि स्कोर बराबरी हुँदा सुपर ओभरमा दिल्ली विजयी भएको थियो ।

बेंग्लोरले दिएको २०२ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको मुम्बईका लागि अन्तिम ओभरमा जितका लागि १९ रनको आवश्यकता परेको थियो । जसमा बेंग्लोरका इसुरु उडानाले बलिङ गरेका थिए। ब्याटिङ गरिरहेका मुम्बईका इशान किसानले तेस्रो बलमा छक्का प्रहार गरेका थिए ।

अन्तिम ३ बलमा ११ रन चाहिएको अवस्थामा चौथो बलमा इशानले अर्को छक्का प्रहार गरे। पाँचौ बलमा उनी ९९ रनमा आउट भएका थिए । यसर्थ अन्तिम बलमा मुम्बईलाई ५ रन चाहिएको थियो भने स्कोर बराबरी गर्न चौका चाहिएको थियो। जसमा मुम्बईका केइरन पोलार्डले चौका हिर्काउँदा खेलमा स्कोर बराबरी भएको थियो । पोलार्डले २४ बलमा नटआउट ६० रन जोडे ।

त्यसपछि भएको सुपर ओभरमा मुम्बईका पोलार्ड र हार्दिक पाण्ड्या ब्याटिङमा आए भने बलिङमा बेंग्लोरका नवदीप शैनी थिए । जसमा चौथो बलमा चौका प्रहार गरेका पोलार्ड पाँचौ बलमा आउट भए। मुम्बईले १ विकेटको क्षतिमा ७ रन जोड्यो ।

सुपर ओभरमा ८ रन चाहिएको बेंग्लोरका लागि एबी डिभिलियर्स र कप्तान विराट कोहली ब्याटिङमा थिए भने बलिङमा मुम्बईका जसप्रित बुमराह थिए। जसमा पहिलो तीन बलमा बाउन्ड्री हुन सकेन । चौथो बलमा भिलियर्सले चौका हिर्काए । पाँचौ बलमा उनले एक रन लिँए । अन्तिम बलमा १ रन चाहिएको अवस्थामा कोहलीले चौका हिर्काउँदै आफ्नो टिमलाई जित दिलाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बेंग्लोरले ३ विकेटको क्षतिमा २०१ रन जोड्यो। उसका लागि देवदूत पडिकलले ५४ रन र आरोन फिन्चले ५२ रन बटले । एबी डिभिलियर्सले २४ बलमा नटआउट ५५ रन जोडे ।

बलिङमा मुम्बईका ट्रेन्ट बोल्टले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको मुम्बईले पनि २०१ रन नै जोड्ने क्रममा इशान किसानले ९९ रन जोडे। उनले ५८ बलमा २ चौका र ९ छक्का हिर्काए । पोलार्डले २४ बलमा नटआउट ६० रन जोडे ।बलिङमा उडानाले २ विकेट लिए । आइपिएलमा मंगलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया