सन्दीप आबद्द दिल्ली र हैदराबाद भिड्दै

दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुने

 

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (मंगलबार) दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र हैदराबाद तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । शेख जायद स्टेडियममा मैदान उत्रदा दिल्ली लगातार तेस्रो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेलमा अपराजित दिल्ली ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो । यस सिजन उपाधि दाबेदार मानिएको दिल्ली तेस्रो खेलमा समेत हैदराबादलाई पराजित गर्न चाहन्छ । तर, हैदराबादविरुद्ध दिल्लीलाई जित निकाल्न कठिन हुनेछ ।

हैदराबाद दिल्लीलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादले अघिल्ला दुई खेल गुमाएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

दिल्लीविरुद्ध हैदराबादसँग वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी रहने छन् । दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, ऋषब पन्त, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्त खेलाडीको साथ रहेको छ । दिल्लीले सन्दीपलाई समेत मौका दिने सम्भावना रहेको छ । तर, अघिल्ला दुई खेलमा भने सन्दीपले मौका पाएका थिएनन् ।

तपाईको प्रतिक्रिया