
सुर्खेत । मानवसेवा आश्रम सुर्खेत भवन निर्माणका लागि वीरेन्द्रनगरको खुलामञ्चमा सञ्चालन भइरहेको महायज्ञमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा योगदान भएको छ । आइतबार वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. रूपक कँडेल र उनको टिमले महायज्ञमा सहभागी भएका श्रद्धालु भक्तजनहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका हुन । महायज्ञमा २ सयभन्दा बढी भक्तजनहरूले स्वास्थ्य परीक्षणमा सहभागी जनाएका थिए ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ ।
घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ । महायज्ञ मंसिर २८ गते सम्म सञ्चालने हुनेछ ।

नेपालीरैबार । २०८१ मंसिर २३, आईतवार