सुर्खेत । कपाल मेरो लामो–लामो तोरी तेल घस्दैन।
अहिले बर्खा राई–रोई काँटे हिउँद म बस्दैन
कति पैसा प¥यो होला कालो बरखीलाई,
मेरो माया मान्ने भए छाड्देउ घरकिलाई
लछीमाकुमारी गौतम (६३) ले सुनाएको गीतको टुक्का हो यो । उनलाई अचेल पूराना दिन खुबै याद आइरहन्छन् । उमेरमा गरेको रमाइलो सम्झन्छिन् । जो भेट्छिन् दुई टुक्का सुनाइहाल्छिन् । अनुहारको चाउरीपनाले बढ्यौलीको प्रष्टै संकत दिन्छ । लछीमाले पनि बैँसमा तोरी तेल लपक्कै लाउँथिन् । कोरीबाटी गर्थिन् । उनले भनेका टुक्का झैँ कपाल पनि कालै थियो । लामै थियो । जस्तो जवानीमा जो–कोहीको हुन्छ ।
‘समयको चक्र त भइगयो नानी कपाल सेतै भयो । कोरीबाटी गर्ने जाँगर पनि चल्दैन । अब बुढो भइएछ,’ उनले जिन्दगीको मोटामोटी हिसाब लगाइन् । विगत सम्झन्छिन् मन भारी भएर आउँछ । आफूसँगका अरुलाई हेर्छिन् आँखिर चिन्त बुझाउनै छ ।
‘अब उ दिन फर्किने नाइँ यस्तै त रै’छ मान्छेको चोला,’ लछीमाले यी शब्द मनमै सोचेकी थिइन् सायद मसिनो आवाज बनेर निस्किहाले । उसो त सुख–दुःख जे परेको होस् कोही ठट्यौली गीतका टुक्का उनले गाइरहन्छिन् । होचो कदको मोटो शरीर । उनलाई बसेपछि उठ्नै धौ–धौ हुन्छ । पश्चिम सुर्खेतको बराहतालकी उनको आमाले सानैमा विहे गराइदिइन् ।
यति कलिलो उमेर थियो कि उनलाई कति वर्षमा विहे भएको थियो भन्नेसम्म याद छैन् । उतिबेला अहिलेजस्तो विहे हुन्थेन, गराइन्थ्यो । उनको पञ्चपुरीमा बिहे गराइयो । बुहारीले काम गर्न सकिन भनेरै परिवारले घर बस्न दिएनन् ।
सानो जोडतोडले घर गरिखान महिलालाई उस्तै मुस्किल गर्ने जमाना जो थियो । समाजमा आज पनि यही चिन्तन कहीँ कतै बाँकी नै छ । सीता वलीको बाइलाइनमा साझा विसौनी दैनिकमा समाचार प्रकाशित छ । यस्तै निहुँमा महिलाहरु घरेलु हिंसा खपिरहेकै छन् । आमाले बिहे गरी पठाइदिएको घर उनको आफ्नो हुन सकेन ।
आमाकै आँगनमा फर्कनुको उनीसँग विकल्प पनि थिएन् । माइतीमा बस्दै आएकी उनले दोस्रो विवाहको बारेमा भने कहिल्यै सोचिनन् । एउटै विहेले भाँचिएको मन अर्को विहेका लागि कहिल्यै उर्छिएन् । ‘आमा–बुवा जिउँदो हुँदासम्म त माइती खै बसेँ,’ उनले भावुक हुँदै विगत सुनाइन्, ‘आमा बुवाले दिने माया कसैबाट नपाइने रहेछ ।’
उनका दाजुभाइ र दिदीबहिनी नभएका होइनन् । भएर के गुर्न उनका पनि त आफ्नै समस्या होलान् । लछीमा आफ्रले गरिखान नसक्ने भएपछि अरुले पनि रेखदेख गर्न छाडे । कसैले नहेरेपछि विगत सात वर्षदेखि उनी वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा आश्रय लिइरहेकी छन् । त्यहाँ उनका उमेरका अरु पनि छन् ।
उनले यसरी दिनहुँ गीतका टुक्का सुनाएर दौतरीलाई हसाउँछिन् । अरुका वृद्धवृद्धाका पनि उनका जस्तै भोगाइ छन् । उस्तै सुख–दुःख बाँड्दा उनीहरु कहिल्यै हाँस्छन्, कहिले गहभरी आँशु बहाउँछिन् ।
उनीहरुका व्यक्तिगत सपना केही छैनन् । न कसैसँग कुनै अपेक्षा नै छन् । उनीहरुलाई लागेको एउटै कुरा छ, सरकारले बेसाहारा जेष्ठ नागरिकलाई खान–बस्नको राम्रो व्यवस्था गरिदिओस् बस् ।
नेपालीरैबार । २०७७ आश्विन १५, बिहीबार