रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको आठबिसकोट वचत तथा ऋण सहकारी संस्थामा डेढ करोड बढी रकम हिनामिना भएको छ ।
सहकारीमा बचतकर्ताले दैनिक, मासिक रुपमा जम्मा गरेको रकम सहकारीले फिर्ता समेत गरेको छैन्। १७९ जनाले दैनिक, मासिक वचत गरेको ब्याज बाहेक ४ लाख ७८ हजार रकम तुरुन्तै फिर्ता गर्न छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आठबिसकोट नगरपालिकाले गत असोजमा देव बहादुर घर्तीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले आइतवार प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम, सञ्चालक समिति र व्यवस्थापक , लेखा समिति समेतको गैरजिम्मेवारीले अपचलन भएको रकम बचतकर्ताले फिर्ता पाउन नसकेको समितिको ठहर छ ।
उक्त संस्थाले बिनाधितो ऋण दिएर सावा र व्याज असुल गर्न नसक्दा करोडौँ रुपैयाँ डुबेको छानविन समितिका अध्यक्ष देव बहादुर घर्तीले जानकारी दिए । उनका अनुसार बिना धितो लाखौं ऋण दिएको तर ऋण असुल गर्न नसकेको , सहकारी अनियमित रुपमा सञ्चालन भएको र सञ्चाल, व्यवस्थापन र लेखा समिति को गैरजिम्मेवार भएर कर्तव्य पुरा नगर्दा सहकारी समस्याग्रस्त भएको बताए ।
प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको र सस्थाले बचतकर्ताको रकम अपचलन भएको पाईएको उनले बताए । कार्यालय बन्द अवस्थामा भएपनि वचतकर्तालाई भने सहकारीले रकम फिर्ता गरेको छैन् ।
सहकारीको रकम फिर्ता गर्न समितिले उल्लेख गरेको छ । सहकारीलाई आठबिसकोट नगरपालिकाले बिभिन्न शिर्षकमा १ करोड ७२ लाख रुपैयाँ दिएको प्रतिवेदनमा छ । जसमध्ये २०७५ सालमा शैक्षिक कर्जा पाइलट अध्ययन गर्न गोविन्द केसी र ललित भण्डारीलाई ५०÷५० लाख रुपैयाँ , घरेलु तथा साना उधम कर्जा ४८ लाख र विपन्न शेयर का लागि ३३ लाख ६५ हजार रुपैयाँ दिइएको छ ।
तर उक्त रकम अहिले सम्म सहकारीले असुल गर्न सकेको छैन्। ९५६ जना शेयर सदस्य रहेको संस्थाको कुल ५ करोडको पुँजी रहेको आठबिसकोट सहकारी संस्था केहि वर्ष यता बन्द अवस्थामा छ ।
सहकारीका अध्यक्ष हरी प्रसाद शर्मा भन्छन, कार्यालयले ऋण लिएका व्यक्ती र संस्थालाई पटक पटक पत्राचार गर्दा पनि अटेरी गरिरहेका छन्। बचतकर्ताको पैसा फिर्ता हुन्छ । ५० हजार देखि माथि ऋण लिएका ३६ जना ऋणीले नियमानुसार रकम फिर्ता नगरेको जानकारी दिए । लिएको ऋण रिकभरी गर्न नसक्दा सबै बचतकर्ताको एकमुस्ट रकम फिर्ता गर्न गाह्रो भएको छ ।
हामी पनि ऋण नतिर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउछौँ । सञ्चालक समिति बाट कुनैपनी रकम तलमाथि भएको छैन्।व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना भएको छैन्। केही बदमाशी गर्ने व्यक्ति र सस्थाले गर्दा सहकारीमा समस्या देखिएको हो । उक्त सहकारीमा स्थानीयले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएको रकम बचत गर्ने गरेका थिए ।
शहरतिरका सहकारीमा रकम ठगी भएपनि गाउँकै व्यक्तिले गाउँमै खोलेको सहकारीबाट रकम अपचलन हुन्छ भनेर कल्पना पनि नगरेको त्यहाँका बचतकर्ताले बताएका छन् । २०७४ चैत १८ गते आठबिसकोट वचत तथा सहकारी कार्यालय, आठबिसकोट नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता भइ सञ्चालमा आएको उक्त सहकारीमा साढे १ सय बढी बचतकर्ताले दुःख पसिना गरेर कमाएको रकम बचत गरेका थिए । संस्थाले ऋण दिएको १ करोड ६१ लाख रकम चुक्ता गर्न सकेको छैन्। दैनिक बचत गर्ने ६९ जनाको १ लाख ७५ हजार र मासिक ११० जना बचतकर्ता को ३ लाख ३ हजार रुपैयाँ वचत गरेका छन्।
आठबिसकोट सहकारीको छानबिन समितिले प्रतिवेदन आठबिसकोट नगरपालिकामा पेश गरेपछि न्यायिक समितिलाई अनुसन्धान को लागि बाटो खुलेको छ । न्यायिक समितिका संयोजक धन कुमारी शाहीले भनिन, हामि छानबिन समितिको प्रतिवेदनको पर्खाईमा थियौँ । प्रतिवेदन आइसकेको छ । सहकारीलाई थप अनुसन्धान र प्रतिवेदनका आधारमा चाँडै टुङ्गो लाग्ने छ । शाहीका अनुसार न्यायिक समितिले उक्त सहकारीको छानबिन गरेर टुङ्गो लगाउने बताईन्।
नेपालीरैबार । २०८१ पुष २२, सोमबार