राउटे समुदायका १ सय चार जनाको निशुल्क स्वास्थ्य जाँच

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित गिरीघाट खोला किनारमा अस्थायीरुपमा बसोवास गरिरहेका राउटे बस्तीमा सोमबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हाे ।

हर्ट नेपाल र नविल बैंकको आयोजनामा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा स्वास्थ्य शिविरको आयोजनामा राउटे समुदायका ४६ महिला र ५८ पुरुष गरी १ सय चार जनाको निशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डाक्टर सुजन सोपकोटाको नेतृत्वमा ४ जना बिषेशज्ञ चिकित्सकको टोलीले राउटेहरुको स्वास्थ्य परिक्षण गरेको हो । उपचारमा संलग्न डाक्टर सापकोटाले अधिकांश राउटेहरुमा चिसोका कारण रुघा खोकी, शारिरिक चोट पटक तथा अव्यवस्थित खानपानका कारण उच्चरक्त चाप लगायतका समस्या देखा परेको बताए ।

सापकोटाले उक्त समस्या महिलाभन्दा पुरुषमा बढी देखिएको र महिलामा पाठेघरसम्बन्धी समस्या भएपनि उनीहरुले जाँच गर्न भने नमानेको बताए । उक्त शिविरमा ३६ जना स्थानीयको पनि निशुल्क स्वास्थ्य जाँच गरिएको थियो। लोपोन्मुख जातिको रुपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ल्लो समय अव्यवस्थित खानपान र जीवनशैलीका कारण घट्दोक्रममा रहेको छ भने हाल उनीहरुको जनसंख्या १ सय ३४ रहेको छ बताइएको छ ।

तपाईको प्रतिक्रिया