बराहताल गाँउपालिका ४ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन

सुर्खेत । सुर्खेतको बराहताल गाँउपालिका ४ नम्बर वडा कार्यालयले आफ्नै भवन बाट सेवा सेवा दिन सुरु गरेको छ। वडा कार्यालयको दुई तले ( तेस्रो तलामा थप दुई कोठा गरि १० कोठे ) पक्कि भवन निर्माण सम्पन्न भएपछी आफ्नै भवनबाट सेवा दिन शुरु गरिएको वडा अध्यक्ष वृष बहादुर सिजापतिले जानकारी दिए ।

आफ्नै भवन नहुँदा वडा कार्यालय विगत ७ वर्षदेखि साविकको तरंगा गाविसको भवन बाट संचालन हुँदै आएको थियो। वडा नम्बर ४ को वडा कार्यालय लागि आर्थिक वर्ष २०८० ÷८१ मा गाँउपालिकाले दुई करोड ५० लाख विनियोजन गरेकोमा ठेक्का प्रक्रियामा जाँदा २ करोड १५ लाखमा ठेक्का सम्झौता भएको थियो ।

२०८० असोजमा ठेक्का सम्झौता भई काम सुरु भएकोमा २०८१ पौषमा निर्माण सम्पन्न भई भवन हस्तान्तरण भएको अध्यक्ष सिजापतिको भनाई छ। निर्माणको काम सुरु भएको करिव १३ महिनामा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । आशिष शुभास मनिक जेभी बिरेन्द्रनगर ४ सुर्खेतले वडा कार्यालयको भवन निर्माणको ठेक्का पाएको थियो। नवनिर्मित वडा भवनको २०८० असोजमा गाँउपालिका अध्यक्ष भिम बहादुर भण्डारीले शिलान्यास गरेका थिए ।

उद्घाटन समारोहमा पालिका अध्यक्ष भिम बहादुर भण्डारीले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो। उहाँले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको बताए । सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै अध्यक्ष भण्डारीले भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गरे । गाउँपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको अध्यक्ष भण्डारीको भनाई थियो ।

यस्तै पालिका अध्यक्ष भिम बहादुर भण्डारीले गाँउपालिकाको ४ र ६ नम्बर वडा कार्यालयको भवन निर्माण सम्पन्न भई उद्घाटन भईसकेको तथा ५ र १० नम्बर वडा कार्यालयको भवन निर्माण सम्पन्न भई उद्घाटन हुन बाँकी रहेको जानकारी दिए ।

यस्तै अध्यक्ष भण्डारीले ७,८ र ९ नम्बर वडा कार्यालयको भवन निर्माणको ठेक्का प्रक्रिया भई भवन निर्माणको काम अगाडी बढेको समेत जानकारी दिए । यस्तै उनले पालिका भित्र ४÷५ वटा लिफ्ट सिचाई संचालन गरिएको एवं गाँउपालिकाको निर्माणाधीन भवनको निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । हाम्रो÷बिनोद जेभी निर्माण सेवाले पालिकाको भवन निर्माणको जिम्मा पाएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने भन्दै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले अब सहज रुपमा सेवा प्राप्त गर्ने बताए । साविकको तरंगा गाविस बाट सेवा प्रवाह भएपनि सेवाप्रवाह चुस्त हुन नसकेको अवस्थामा भवन निर्माण भएसँगै कर्मचारी र सेवाग्राहीलाई सहज हुनेमा विश्वास व्यक्त गरेका थिए । उद्घाटन समारोहमा पालिका अध्यक्ष भिम बहादुर भण्डारी,उपाध्यक्ष लक्ष्मी पुन,वडा नम्बर ४ का निर्वाचित जनप्रतिनिधी,पुर्व जनप्रतिनिधि,लगाएत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया