सुर्खेत । कर्णाली सरकारमा सहभागी साझेदार दलका नेता जीवनबहादुर शाहीले सरकार नै छाडिदिने चेतावनी दिएका छन् । प्रदेश सभाको बैठकमा बोल्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाबारे सोच्नु पर्ने बेला आएको भन्दै सरकारमा सहभागी हुन नसक्ने चेतावनी दिएका हुन् ।
शाही बोल्नु पूर्व मुख्यमन्त्री यामलाल कँडेलले सरकारले गरिरहेका कामबारे फेरिस्त पेश गरेका थिए । लगत्तै बोलेका शाहीले वाइवडी काण्डमा आफू मुछिएका विषयमा स्पष्ट पारे । सरकारबारे खुलेरै असन्तुष्टि जनाएका शाहीले नेकपा माओवादीसँगको साझेदारमा गाडी काण्ड निकालेर मुद्दासमेत हाल्न लगाएको प्रंशग निकाले । लगत्तै उनले एमाले र माओवादी सरकारहुँदा नेपाली काँग्रेससँग गरिएका आठ वुदे सहमति नभुल्न चेतावनी शाहीले दिए ।
सरकार नै छाडिदिने चेतावनी दिएका शाही रिसाउनुको कारण भने ‘कैलाश गेटवे’ हो । संघीय र प्रदेश सरकारको ५०-५० प्रतिशत लगानीमा यो योजना हुम्लाको खार्पुनाथ र सिमकोट गाउँपालिकामा लागू गर्न शाहीले खोजेका छन् । दुई वर्ष अगाडी नै कैलाश गेट वेका लागि प्रारम्भीक विस्तृत परियोजना प्रतिवेदन बनाइएको थियो ।
गत आर्थिक वर्षमा यो परियोजना अगाडी बढाउन संघ सरकारको ९ र प्रदेशको ९ करोड गरेर १८ करोड बजेट विनियोजन गरिएको हो । गतवर्षमा कामै गर्न नसकेर बजेट फ्रिज नै भयो । समपुरक अनुदानमा आएको रकम जहिल्यै फिर्ता हुन थालेपछि शाही रिसाएका हुन् ।
तीन वर्षमा सक्ने गरी ९८ करोड लागतमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको योजना हो । प्रमुख धार्मिक स्थल चीनको मानसरोवर जाने प्रवेशद्वारा खार्पुनाथदेखि सिमकोटसम्मको सडक सुधारदेखि विभिन्न योजनाहरु समेटिएको छ । यो वर्ष पनि संघीय सरकारले १५ करोड र प्रदेश सरकारले १५ बजेट विनियोजन गरेका छन् ।
मुख्यगरी ट्रेल र संग्राहलय निर्माण, तातोपानी कुण्डलाई व्यवस्थित गर्ने, हुम्ला र मुगु कर्णालीको दोभानलाई व्यवस्थित बनाउने, शीव मन्दीर र बाल मन्दीरको स्तरोन्नति, पिकनिक स्थल निर्माण, सडक विस्तारसम्मका योजनाहरु समावेश छन् ।
बजेट आएको योजनालाई टेण्डर गरिदिन शाहीले पटक पटक आग्रह गरेको तर भौतिक मन्त्री बुढाले चासो नदिएको भन्दै उनको बारेमा सोच्नु पर्ने बेला आएको बताए । सरकारले भने स्रोत सुनिश्चितता कसरी गर्ने भन्ने विषयमा प्रक्रिया अगाडी बढाउनमा विलम्ब भएको बताउँदै आएको छ ।
नेपालीरैबार । २०८१ माघ ७, सोमबार