सल्यान । गत वर्ष सल्यानमा टिमुर बिक्रीबाट २३ करोड रुपैयाँ भित्रिएको छ । गत वर्ष जिल्लामा तीन लाख ८५ हजार किलो टिमुर बिक्रीबाट किसानले करिब २३ करोड रुपैँया कमाएका हुन् । यस वर्ष पनि हालसम्म जिल्लाबाट एक लाख ६ हजार किलो टिमुर निकासी भइसकेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजङ्ग खड्काले बताए ।
सल्यानका करिब १ सय किसानले फर्म नै दर्ता गरेर टिमुर खेती गरिरहेका छन् । यस बाहेक सामुदायिक वनमासमेत टिमुर खेती हुँदै आएको छ । व्यावसायिक टिमुर खेतीले किसानलाई राम्रो आम्दानी दिनुका साथै, वातावरणमा पनि सकरात्मक प्रभाव पारेपछि पछिल्ला वर्षहरूमा सल्यानका किसानले उत्साहका साथ टिमुर खेती गरिरहेका छन् ।
प्रशोधित टिमुरले बजार मूल्य राम्रो पाउने गरेको टिमुर प्रशोधन उद्योगका सञ्चालक लालमति बस्नेतले बताएका छन् । वनस्पति विभागले ३३ जडिबुटीलाई प्राथमिकतामा राखेको छ । आफ्नो क्षेत्रमा उत्पादन भएको टिमुर फ्रान्स र जर्मनीमा निर्यात भइरहेकाले टिमुर खेतीको प्रर्वद्धन र विस्तारमा नगरपालिकाले ध्यान दिएको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले बताए ।
नेपालीरैबार । २०८१ माघ ८, मंगलवार