सुर्खेत । राष्ट्रिय जनमोर्चाले यही सालको चैत्र २४ गतेदेखि ३० गतेसम्म काठमाडौंमा सङ्घीयताका विरूद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने घाेषणा गरेकाे छ । देशमा सङ्घीयता जनताको माग र देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकताका आधारमा नआएकाे भन्दै खारेजीकाे मागसँगै आन्दोलन गर्न लागिएकाे जनमाेर्चाकाे दावी छ ।
बुधवार वीरेन्द्रनगरमा आयाेजित पत्रकार सम्मेलनमा जनमाेर्चाका केन्द्रय उपाध्यक्ष जनकराज शर्माले साम्राज्यवादी देशहरू मुख्यतः भारतीय साम्राज्यवाद र पश्चिमी साम्राज्यवादी देशहरूको दबाबका कारणले नेपालमा ल्याइएको संघीयता देशले धान्न नसक्ने दावी गरे । सङ्घीयताका कारणले देशमा राष्ट्रिय विखण्डन हुने र देशको अखण्डतामा आघात पुग्ने खतरासँगै देशमा जातिवाद बढ्दै जादा जातीय वैमनस्यता बढेर गएकाे उनकाे दावी थियाे ।
‘सङ्घीयताको प्रधान पक्ष प्रादेशिक संरचना नै हो। प्रशासकीय रूपमा प्रादेशिक संरचना आवश्यक र सही दुबै छ । तर प्रादेशिक संरचनाको सङ्घीय पक्ष खारेज हुनुपर्छ । अहिले प्रादेशिक संरचनामा खर्च भइरहेको ठुलो धनराशी देशका लागि अनावश्यक आर्थिक बोझ हो ।
सङ्घीयताको प्रादेशिक संरचनालाई समाप्त गरेर त्यसमा खर्च भइरहेको ठुलो धनराशीबाट शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सकिन्छ भने त्यसबाट देशको विकासमा पनि धेरै मदत पुग्न सक्ने छ,’ उपाध्यक्ष शर्माले भने । सङ्घीयतालाई समाप्त पारेर त्यसको ठाउँमा पुरानो प्रकारको सामन्ती र नोकरशाही प्रकारको प्रतिक्रियावादी एकात्मक प्रणाली नभई प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम हुनुपर्ने जनमाेर्चाकाे शिद्धान्त रहेकाे उनकाे दावी छ ।
सङ्घीयतालाई खारेज गरेपछि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा मदत पुग्नुका साथै देशको विकासमा समेत मदत पुग्ने जनमाेर्चाकाे ठहर छ ।
नेपालीरैबार । २०८१ माघ ९, बुधबार