
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ७ को साँख गाउँ मगर खाम भाषाबाट उत्पत्ति भएको मानिन्छ । साँखको अर्थ डाँडाकाँडाको बिचमा खाल्डो अर्थात् समथल ठाउँ भन्ने हुन्छ । यस ठाउँको उत्पत्ति भएसँगै डाँरी गाउँ र झारी गाउँ भन्ने ठाउँमा क्रमशः रमजा र पजंगी जातका जनजातिहरूले बसोबास गरिआएको र उक्त स्थानबाट मानव बस्ती विकास हुने क्रममा दह फेला परेको किंवन्ती छ ।
दहमा प्रतिवर्ष मानिसहरू डुबेर मर्ने क्रम बढ्दै गएपछि त्यहाँका आदिवासीहरू डरले सन्त्रास भइरहेको अवस्थामा एक जना सिमलनाथ बाबाको आगमन भएपछि गाउँका जानमान (जान्ने मान्छे) ले दहबाट गाउँलेले बेहोर्नुपरेको क्षतिको विषयमा बाबासँग हेराउँदा उक्त बाबाले यो गाउँको वरिपरि चारैतिर देवीदेवताले बास गरेको र यो दहमा कल्सुर नामका राक्षसले बास गरेका छन्, अन्य देवीदेवतालाई तपाइहरू भोग दिएर शान्ति र खुसी बनाउनुभएको छ, तर राक्षसलाई केही कुनै खुसी बनाउने काम गर्नुभएको छैन, त्यसै कारण यो दहले प्रतिवर्ष मान्छेलाई भोग खाने गरेको छ, यो भोगबाट बच्नलाई तपाइहरूले राक्षसलाई खुसी बनाउने काम गर्नुपर्छ, त्यो काम भनेको प्रतिवर्ष माघ १ गतेबाट १५ गतेसम्म अविवाहित किशोरीहरू थला बस्ने र १५ गते राती नौमती बाजा सहित कन्या कन्या बिचको विवाह उत्सव गरेमा राक्षस खुसी हुन्छन् र जोखिमबाट बच्न सकिन्छ भन्ने उपदेश दिएकाले पापिनी विवाह गर्ने ऐतिहासिक परम्परा रही आएको देखिन्छ ।
शास्त्रीय र विधिवत् अर्थात् विपरीत लिङ्गका बिचमा हुने विवाहलाई वास्तविक विवाह भन्ने गरेको र समलिङ्गीका बिच हुने विवाह राक्षसी विवाह भएकोले यो राक्षसी विवाहको नाम पापिनी विवाह नामकरण गरिआएको देखिन्छ भने उक्त विवाहमा सहभागी हुनेलाई पापिनी भन्दै आइएको छ । कुनै पाप गरेकोले पापिनी भनिएको होइन । परम्परागत जात्रा हाल मेलाको रूपमा परिणत हुँदै गएको छ । उक्त मेला २०७९ भन्दा पहिले सामान्य रूपमा लाग्ने गरेको र हाल उक्त मेलामा देशैभरका व्यापारी आउने गरेको, करोडौँ रुपैयाँको कारोबार हुने गरेको, खेलकुदका कार्यक्रम हुने गरेको, स्थानीय सांस्कृतिक कार्यक्रमहरू लोप हुँदै गएकोमा हाल प्रतिस्पर्धामा चल्ने गरेको र यसले साँखको पहिचानलाई विश्वव्यापीकरण गरेको अवस्था रहेको छ । जसले गर्दा निम्न सन्देशहरू दिएको मैले अनुभूति गरेको छु ।
१. पापिनी विवाह
यो विवाह हाम्रो देशका दुर्लभ संस्कार हो । जुन विवाह राक्षसलाई खुसी पार्न मात्रै नभई नेपालकै नयाँ र मौलिक संस्कृति हो भन्ने सन्देश दिएको छ । यसमा महिला प्रधान सर्वेसर्वा महिला हुन्छन् भने विवाहमा दुलहा दुलही मात्र समलिङ्गी (महिला) नभई दुलहा दुलहीका आमा बुवा (सम्धी सम्धिनी) समेत समलिङ्गी हुन्छन् । यसले हामीलाई विश्व सम्पदामा चिनाउने, पर्यटन क्षेत्रमा टेवा पु¥याउने र प्रवद्र्धन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै मुसिकोटको नाक–साँख भन्ने भनाइलाई पुष्टि गरिदिएको छ । मुसिकोटको सबै भन्दा नजिक र पर्यटकीय क्षेत्र साँख हो भन्ने कुरा चिनाउन सफल भएको छ । मध्यपहाडी लोकमार्गको वरिपरि रहेका तीर्थ स्मृति पार्क, पिकनिक स्थल, बैरी दह, सानी दह, ठुली दहको सौन्दर्ययतालाई थप गर्न यो विवाहले महत्त्वपूर्ण योगदान गरेको छ ।

नेपालीरैबार । २०८१ माघ २३, बुधबार