सुर्खेतमा ‘कर्णाली विद्यार्थी महोत्सव’ हुने, कलाकार सुगम पोखरेल आउने

सुर्खेत। वीरेन्द्रनगरमा ‘कर्णाली विद्यार्थी महोत्सव’ हुने भएको छ। अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठन (अनेरास्ववियु) सुर्खेत जिल्ला कमिटीले कर्णाली विद्यार्थी महोत्सवको आयोजना गर्न लागेको हो।

वीरेन्द्रनगरस्थित सिटी हलमा हुने महोत्सवका लागि सबै तयारी पूरा भईसकेको अनेरास्ववियु सुर्खेतले जनाएको छ। विद्यार्थीहरुको सहभागितामा अतिरिक्त तथा मनोरञ्जनात्मक क्रियाकलापहरु महोत्सवमा प्रस्तुत गरिनेछ। एक दिन मात्र हुने विद्यार्थी महोत्सवमा विद्यार्थी संगठनहरुमार्फत प्रदेशका सबै जिल्लाका विद्यार्थीहरुलाई जोड्ने उद्देश्य राखिएको छ। महोत्सव फागुन ३ गते मात्र सञ्चालन हुने छ ।

कर्णाली विद्यार्थी महोत्सवमा शैक्षिक प्रविधिको छलफल तथा प्रवद्र्धन, स्थानीय कला संस्कृतिको सशक्तिकरण तथा प्रस्तुति, स्वास्थ्य तथा सचेतना कार्यक्रम, रोजगारीका अवसर, कलेज छनोट र व्यावसायिक मार्गदर्शन, शैक्षिक संघसंस्था र समुदायबीच सहकार्य र साझेदारीमा वातावरण निर्माण गर्ने जस्ता क्रियाकलापहरु पनि सञ्चालन गरिनेछ।

महोत्सवमा ‘विद्यार्थीसँग मुख्यमन्त्री’ शिर्षकमा समूह छलफल राखिएको छ। यसमा मुख्यमन्त्रीसँग विद्यार्थीहरुले आफ्नो जिज्ञासा तथा सुझाव प्रदान गर्नेछन्। ख्यातीप्राप्त कलाकार सुगम पोखरेलले प्रस्तुति राख्नेछन् भने यसबाहेकका अरु मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि महोत्सवमा रहने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया