यसपालिको सकियो हिउँद, अबदेखि वर्षासँगै बढ्नेछ चट्याङ र हावाहुरी

सुर्खेत । नेपालमा प्रि-मनसुन सुरु भएको छ। मौसमविद्का अनुसार फेब्रुअरी महिनासँगै हिउँद याम (विन्टर) बिदा भएकाले आज फागुन १७ देखि प्रि-मनसुन लागेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ मिहनालाई हिउँद मानिन्छ भने मार्चदेखि प्रिमनसुन लाग्छ।

‘अब मार्च, अप्रिल र मे गरी ३ महिनालाई प्रिमनसुनको अवधि मानिन्छ’, शनिबार बिहान मौसमी गणनाबारे जानकारी दिँदै उनले  भने, ‘तर मनसुन नभित्रिँदासम्म प्रिमनसुन नै मान्नुपर्ने हुन्छ।’

तर नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भएकाले त्यसअघिसम्मको अवधिलाई प्रि-मनसुन नै मान्नुपर्ने मौसमविद् लामिछानेको भनाइ छ। त्यसो त मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भए पनि २/४ दिन अघिपछि पनि हुनसक्छ। अबदेखि वर्षासँगै चट्याङ पर्ने र हावाहुरी आउने क्रम बढ्ने उनले बताए। ‘प्रि-मनसुनमा झरी टाइपको लामो वर्षाचाहिँ हुँदैन, छोटो समयमा चट्याङ र हावाहुरीसँगै धेरै वर्षा हुने हुन्छ’, मौसमविद् लामिछानेले भने।

तपाईको प्रतिक्रिया