नेपालले उच्च मनोबलका साथ मलेसियासँग खेल्ने तयारी

काठमाडौँ । एएफसी एसियन कप २०२७ अन्तिम चरणको छनोट अन्तर्गत पहिलो खेलमा विजयी सुरुवात गर्ने लक्ष्यसहित नेपाली टिम अहिले मलेसियामा रहेको छ ।नेपालले मङ्गलबार साँझ मलेसियाको जोहोरमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाली समय अनुसार साँझ ७स्४५ बजे घरेलु टिमविरुद्ध खेल्ने छ । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ । फिफा वरीयतामा मलेसिया १३२ र नेपाल १७५ औँ स्थानमा रहेका छन् । अझ घरेलु मैदानको फाइदामा खेल्ने भएकाले मलेसियालाई जितको दाबेदार मानिएको छ । पछिल्ला दुई खेलमा थाइल्यान्ड र सिङ्गापुरसँग बराबरीमा खेलेर मलेसियाले नेपालको सामना गर्दै छ । नेपालले भने पछिल्ला दुई खेलमा जित हासिल गरेको छ । तीन दिनअघि भएको पछिल्लो खेलमा नेपालले सिङ्गापुरलाई उसकै भूमिमा १–० ले पराजित गरेको थियो । त्यसैले पनि नयाँ प्रशिक्षक म्याट रोसको रेखदेखमा रहेको नेपालले उच्च मनोबलका साथ मलेसियासँग खेल्ने अनुमान गर्न सकिन्छ । अस्ट्रेलियाली रोसले नेपालको प्रशिक्षकका रूपमा आफ्नो पदार्पणमै जितको स्वाद चाख्नुभएको हो । जुन नेपालको सिङ्गापुरविरुद्ध ३६ वर्षपछि पहिलो जित थियो ।

प्रशिक्षक रोसले सोमबार प्रिम्याच सम्मेलनमा नतिजाबारे भविष्यवाणी गर्न सक्दिनँ तर नेपालले सशक्त, आक्रामक र सकारात्मक फुटबल खेल्ने भनाइ दोहोर्‍याए । उनले भने, “हामी रक्षात्मक हुने छैनौँ, फ्रन्टफुटमा खेल्ने छौँ । मलेसिया बलियो टिम हो । त्यसैले बराबरी पनि हाम्रा लागि राम्रो नतिजा हो तर हामी तीन अङ्क हासिल गर्न खेल्ने छौँ ।” सिङ्गापुरविरुद्धको खेलमा स्ट्राइकर जिलेस्पीजङ्ग कार्की चम्केका थिए । पछिल्ला तीन अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने जिलेस्पी मलेसियाविरुद्धको खेलमा पनि हेर्नलायक खेलाडीका रूपमा रहने छ । यसै गरी टिममा कप्तान किरण चेम्जोङको नेतृत्वमा रहेको डिफेन्स पनि बलियो रूपमा प्रस्तुत भएको थियो । कप्तान किरणले नेपाली फुटबल टिमका खेलाडी दर्शकले खचाचख रङ्गशालामा खेल्ने बानी भएकाले अवे खेलमा पनि फरक नपर्ने प्रतिक्रिया दिए । उनले मलेसियामा खेल भए पनि रङ्गशालामा बाक्लो सङ्ख्यामा नेपाली रङ्गशाला पुग्ने र त्यसमै प्रेरणामा आफूहरू फुटबललाई ‘इन्ज्वय’ गरेर स्वनभाविक प्रदर्शन गर्ने छौँ, भने । तीन दिनअघि सिङ्गापुरमा खेल्दा नेपाल समर्थकको बाक्लो उपस्थिति भएकाले पनि किरण मलेसियामा पनि दर्शकको समर्थन पाउनेमा आशावादी भएका हुन् ।

यसै गरी मलेसियाका प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपालविरुद्ध खेल्न आफ्नो टिम उत्साहित र तयार छ भने । उनले भने, “सिङ्गापुरलाई हराएर नेपाल मलेसिया आएको छ । त्यसैले नेपाललाई हलुका रूपमा लिने छैनौँ । नेपालको मनोबल अहिले उच्च भएको हुनु पर्छ । हाम्रा लागि नेपाल कठिन प्रतिस्पर्धी हुन सक्छ । यद्यपि म अहिले आफ्नो टिमले कसरी भोलि प्रदर्शन गर्छ भन्नेमै केन्द्रित छु ।” मलेसियाका प्रशिक्षक पिटर पनि अस्ट्रेलियाली छन् । नेपालसँगको खेल उनको पनि मलेसियाका लागि पदार्पण हुने छ । गत डिसेम्बरमा पिटरलाई एएफसी एसियन कप–२०२७ अन्तिम चरणको छनोटकै लागि नियुक्त गरिएको थियो ।

विगत हेर्ने हो भने नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा मलेसियासँग मैत्री खेल खेल्दा नेपाल २–० ले पराजित भएको थियो । नेपाल र मलेसियाबिच अहिलेसम्म सात खेल भएका छन । जसमध्ये छ मा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको थियो । एसियन कप छनोटको पहिलो खेल नेपालले मलेसियासँग घरेलु मैदानमा खेल्ने तय भएको थियो । एएफसीले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय मैत्री खेलका लागि अनुपयुक्त भन्दै सो खेल मलेसियामा सारेको हो । यद्यपि मलेसियाले आफ्नो होम म्याच नेपालमा खेल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया