भारतीय तरकारीले बजार नघस्दा शिवालयका किसानको गुनासो

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाका किसानले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको वडा नं. १ र २ का किसानले आफूहरूले उत्पादन गरेको तरकारी भारतीय सस्तो तरकारीले बजार नपाएको गुनासो गरेका हुन् ।

शिवालय गाउँपालिका–२, नेपाका किसान बलबहादुर घर्तीले स्थानीय तरकारी बजारमा तरकारी बेच्न निकै समस्या हुने गरेको बताए । “हामीले महँगो तरकारी बेचेका बेला व्यापारीले भारतको सस्तो तरकारी रोज्छन्,” उनले भने, “जसले गर्दा हामीलाई समस्या भएको छ ।” भारतबाट आयात हुने तरकारीमा नियन्त्रण गरे उत्पादन र मूल्य दुवै बढ्ने उनको धारणा छ । यस्तै शिवालय–२ कै किसान नैनसरा घर्तीले पनि बजारीकरणमा निकै समस्या भएको बताए । “हाम्रो उत्पादनको बजारीकरणमा समस्या छ,” उनले भने, “कहिलेकाहीँ बिक्री गर्न नसकेर निराश भएर फर्किनु पर्छ ।” नेपाली उत्पादन लागत नै महँगो हुने भएकाले महँगो पर्ने र भारतबाट आएको तरकारीको मूल्य सस्तो हुने हुँदा उपभोक्ताका लागि ठिक भए पनि किसान मारमा परेको उनको भनाइ छ ।

किसानले बजारीकरण, सिँचाइ र ढुवानी जस्ता समस्यामा सुधारको माग गरेका छन् । पहिले बाँझो जग्गा छोड्दै गएको तर पछिल्लो केही समय विकास साझेदार निकायबाट सहयोग पाएपछि कृषि पेसामा आबद्ध भएको बताएका छन् । शिवालय गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक विश्वामित्र शर्माले शिवालयका नौ वडामध्ये २ नं. वडा तरकारीको पकेट क्षेत्र भएको जानकारी दिए । अन्य वडामा स्थानीयहरू कृषि पेसा गर्न छोड्दै गएको उनले बताए । प्राविधिक सहायक शर्माले स्थानीय सरकारले ढुवानी, बिक्रीवितरणमा प्रचारप्रसारलगायतमा किसानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कर्णाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायतले किसानमा जोसजाँगर तथा मेहनत देख्दा उत्साहित भएको बताए । उनले भारतको तरकारीको दबदबाले यहाँका किसानमा समस्या हुनु निकै दुःखद भएको धारणा राखे । मन्त्रालयबाट यसलाई रोक्नभन्दा पनि विषादी परीक्षणमा ध्यान दिने र उक्त तरकारीलाई रोक्नमा केही सहयोग गर्ने उनले बताए । उनले सिँचाइको समस्या समाधान गर्न लागि मन्त्रालय तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया