काठमाडौं : आज दुई शक्ति प्रदर्शन गणतन्त्रवादी र राजावादी, सुरक्षा व्यवस्था कडा

काठमाडौं । आज काठमाडौं उपत्यकाको राजनीतिमा फरक धार बोकेका दुई समूहहरूले एकै दिन शक्ति प्रदर्शन गर्ने भएका छन् । गणतन्त्रको पक्षमा रहेका समाजवादी मोर्चा र राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै आन्दोलित समूहले छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

गणतन्त्रवादी प्रदर्शनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्नेछ । मोर्चाले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सुनधारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने र ती जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुने जनाएको छ । राजावादी प्रदर्शन नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर तीनकुनेमा प्रदर्शन गर्नेछ ।

प्रशासनले राजावादी समर्थकहरूलाई रिङरोडबाहिर मात्र जुलुस निकाल्न अनुमति दिएको छ । दुई फरक विचारधारा बोकेका समूहहरूले एकै दिन प्रदर्शन गर्न लागेकाले प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। सम्भावित झडपलाई मध्यनजर गर्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया