कोरोना नियन्त्रणमा तीन करोड खर्च

जाजरकोट । कोरोना भाईरस (कोभिड–१९) महामारी सतर्कता र रोकथामका लागि जाजरकोटका सात वटा स्थानीय तहहरूले सवा ३ करोड खर्च गरेका छन् । ६ महिनाको अवधिमा जाजरकोटका ३ नगरपालिका र ४ वटा गाउँपालिकाले कोरोना भाईरस महामारी सतर्कता र रोकथामका लागि ३ करोड १५ लाख ५२ हजार २ सय ७१ खर्च गरेको पाईएको हो ।

 

२०७६ चैत ११ गते यता हालसम्म खर्च गरेको पाईएको स्थानीय तहको तथ्यांकमा छ । जिल्लाका ७ वटा स्थानीय तहको कोरोना कोषमा जम्मा भएको ३ करोड १५ लाख ५२ हजार २ सय ७१ बाट जुनीचाँदे गाउँपालिकाले ५४ लाख ४५ हजार ६ सय ६८ खर्च गरेको गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।

राहत वितण, स्वयंमसेवक परिचालन, पिसी .आर. जाँच, आर.डि.टी परिक्षण,हेल्प डेस्क, क्वारेन्टाईन निर्माण, क्वारेन्टाईनको खाना लगायतका विविध विषयमा खर्च गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य बस्नेतले जानकारी दिइन् । भेरीमालिका दैनिकमा समाचार छापिएकाे छ ।

जिल्लाको अर्काे स्थानीय तह बारेकोट गाउँपालिकाले कारोना नियन्त्रणका लागि ७५ लाख ६० हजार ९ सय ५ खर्च भएको तथ्यांकमा उल्लेख गरेको छ । जसअन्तर्गत सचेतनाका लागि ५ लाख, उद्वार गरिएका नागरिकको गाडी भाडा ५ लाख ७२ हजार १ सय, भिटीएम, आरडिटी किट, मास्क, पीपीई सेट, थर्मल गन लगायतका स्वास्थ्य सामग्री र औषधी खरिदमा २८ लाख ५४ हजार १ सय ५६ खर्च गरेको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन ।

यस्तै, क्वारेन्टाइन व्यवस्थापन आन्तरिकतर्फ नेपालबाट भित्रिएका नागरिकहरूलाई ३ लाख ३७ हजार ३, क्वारेन्टाइन व्यवस्थापन बाह्यमुलक १५ लाख ५० हजार ६ सय ४६, राहत वितरण मकै नुन तेल १७ लाख ४७ हजार खर्च भएको गाउँपालिका उपाध्यक्ष शाहीले जानकारी दिइन ।

जिल्लाको कुशे गाउँपालिकाले कोरोना नियन्त्रणमा ४० लाख खर्च गरेको छ । जसअन्तर्गत, क्वारेन्टाइन व्यवस्थापनमा ८ लाख, खाद्य व्यस्थापनमा १२ लाख, गाडी भाडा १० लाख, औषधी खरिद १० लाख खर्च गरिएको गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।

नलगाड नगरपालिकाले कोरोना नियन्त्रण ५८ लाख १ सय ७३ रुपैया खर्च गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

यस्तै जिल्लाको भेरी नगरपालिकाले १ करोड ४४ लाख ८७ हजार ६ सय ९८ रुपैयाँ खर्च गरेको नगरपालिकाको तथ्यांकमा छ । जसअन्तर्गत मास्क सेनिटाइजर आरडिटी तथा पीपीई सेट खरिदमा ४८ लाख ५० हजार १६, क्वारेन्टाइनमा आवश्यक जिन्सी समान खरिदमा ३४ लाख १३ हजार ८३, कोभिड प्रभावित परिवारलाई राहत वितरण १७ लाख ६९ हजार ८ सय ८, क्वारेन्टाइन खर्च ३६ लाख ४० हजार ३ सय ८५, गर्ववती महिला भिडियो एक्सरे कार्यक्रम, २ लाख ८४ हजार ४ सय ६, राहत वितरण १ लाख ८० हजार, विविध खर्चमा ३ लाख ५० हजार खर्च भएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।

कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका नाममा छेडागाड नगरपालिकाले दुई करोड २५ लाख ७२ हजार ४ सय ९५ रुपैया खर्च गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लाको शिवालय गाँउपालिकाले ७० लाख खर्च गरेको पालिकाले जनाएका छन् । जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको गत आर्थिक वर्षको बार्षिक प्रगति समिक्षा कार्यक्रममा पालिकाहरूले उक्त खर्च विवरण पेश गरेका छन ।

पालिकाले महामारी नियन्त्रण तथा रोकथाम लगाएतका शीर्षकमा विपन्न परिवारलाई खाद्यान्न वितरण, प्रचार प्रसार, सावुन, मास्क, आरडिटी परिक्षण, गर्भवती महिलालाई भिडियो एक्सरे, औषधि खरीद क्वारेन्टिनमा रहेका नागरिकहरूका लागि बेड बिस्तरा लत्ता कपडा, खाना नास्ता, बिरामीलाई राहत वितरण, गाडी भाडा लगाएतमा खर्च गरेका छन् । सबैभन्दा धेरै छेडागाड र भेरी नगरपालिकाले बजेट खर्च गरेका छन् ।

भारत लगायतका स्थानबाट नागरिकहरू जिल्लामा भित्रिएकोले क्वारेन्टाइनमा खाना र अन्य ब्यवस्थापनमा ठुलो रकम खर्च भएको जनाएका छन् । जिल्लाका विभिन्न ३७ स्थानमा क्वारेन्टाइन बनाईएको थियो । अन्य सबै ठाँउका क्वारेन्टाइन हटाईएको भएपनि भेरी नगरपालिकाको त्रिभुवन माविमा रहेको क्वारेन्टाइन जिल्ला बाहिरबाट आएकाहरूलाई राख्ने गरिएको छ ।

२३ जना अहिले पनि क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा बस्नेलाई खाना, नास्ता र सरसफाई सामग्री, ओछ्यान लगायतका कुराको व्यवस्थापन गर्ने गरिएको छ । तर धेरै क्वारेन्टाइनमा खानेपानी र शौचालयको अभाव, एउटै कोठामा २५ जना भन्दा बढी कोचिएर बस्नुपर्ने, छाना चुहिने, मच्छड र उडुस लाग्ने, खाननास्ता गुणस्तरहिन हुने गरेको गुनासो आउने गरेको थियो ।

तपाईको प्रतिक्रिया