१० औं राष्ट्रिय खेलकुद फेरि स्थगित,समयमै खेल खेलाउन सरकार असफल

कर्णाली प्रदेश पनि सदस्य सचिव विहिन

सुर्खेत। आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औं राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२ औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।

२०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो । तर, तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारिएको थियो ।

उक्त समयमा पनि प्रतियोगिता हुन नसकेपछि पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । तर, सो समयमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै बोर्ड बैठकले स्थगित गरेको हो ।

‘कानूनी प्रक्रिया पूरा गर्न समय अभाव हुने देखियो । र, मौसमको प्रतिकूलताका कारण स्थगित गर्नुपर्ने अवस्था आयो,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘अर्को पटक बजेट सुनिश्चितता गरेर मिति तय गर्छौं ।

यता राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य नन्दा बस्यालले जेठमा प्रतियोगिता गर्न आवश्यक तयारी पुरा भइ नसकेकाले तत्काल खेल स्थगित भएको जानकारी दिइन । प्रतियोगिता सञ्चालनको मिति नजिकिएको तर प्रतियोगिता पूर्वका खेलाडी छनौट, खेलकुद सामाग्री तथा बजेट व्यवस्थान लगायतका प्राविधिक पक्षमा तयारी पुरा नभएपछि जेठमा प्रतियोगिता नुहने उनले बताइन ।

मुख्य खेल सञ्चालन हुने कर्णाली प्रादेशिक रंगशालाका बाहिरी संरचना निर्माण भएपनि भित्रि संरचना सम्पन्न नहुनु तथा जेठमा मौसमी अनुकुलता नहुने देखिएपछि हाललाई प्रतियोगिता स्थगित भएको उनले बताइन । यद्यपी खेलको नयाँ मिति भने तय नभएको बस्यालले बताइन । उनका अनुसार चालु आर्थिक वर्षमा प्रतियोगिता सञ्चालन हुनेछैन ।

तपाईको प्रतिक्रिया