सुर्खेतका कैदी बन्दीलाई तनाव व्यस्थापन गर्ने तरीका सिकाइयो

सुर्खेत । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्छ । समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहजता आउन सक्छ । त्यसैमा झन् कारागारमा रहेका बन्दीहरुलाई बढि तनाव हुने गर्दछ ।

यसैबिच कारागार कार्यालय सुर्खेतको बन्दी सुधार गृहमा रहेका ४० जना बढिलाई तनाव व्यवस्थापनसँगै योग ध्यान र जीवन जिउने कलाको बारेमा सिकाइएको छ ।

कारागारको आयोजनामा द आर्ट अफ लिभींग नेपाल सुर्खेतको सहकार्यमा द आर्ट अफ लिभींगका प्रशिक्षक सागर भुसालले कैदी बन्दीहरूका लागि एक हप्ते (१७–२३ चैत्र) सम्म प्रिजन स्मार्ट कार्यक्रम सम्पन्न गरेका हुन् ।

सो अवसरमा उनले कैदी बन्दीलाई कसरी सजिलै तनाव व्यस्थापन गरेर खुसी रहन सकिन्छ भन्नेबारेमा जानकारी दिएका थिए । धेरै तनाव भएको समयमा आफूलाई मन पर्ने वा जान मन लागेको ठाउँमा भएको कल्पना गर्न उनले कैदी बन्दीलाई सिकाएका थिए । ध्यानले अल्पकालीन तनावबाट राहतका साथै दिगो तनाव व्यवस्थापन हुने भन्दै ध्यान गर्ने बानी बसाउन अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया