मालिका लेक संरक्षण र प्रवर्धनमा जोड

सल्यान । सल्यानको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्व बोकेको मालिका लेक संरक्षण गरी पर्यटकीय प्रवर्धनका लागि सरोकारवाला छलफलमा जुटेका छन् ।

नयाँ वर्ष २०८२ को अवसर पारेर दार्मागाउँपालिका सल्यान र डिभिजन वन कार्यालय सल्यानको सहकार्यमा मालिका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्धनका लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरूले सल्यानका १० वटै स्थानीय तहमा रहेका प्राकृतिक, धार्मिक र कृषी पर्यटकीय क्षेत्रको विकासलाई एक आपसमा जोडेर मात्र सल्यानमा आन्तरिक तथा वाह्य पर्यटक जिल्लामा चलायमान गराउन सकिने बताएका छन् । दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले लेकको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गरिएको जानकारी दिए । उनका अनुसार दार्मा गाउँपालिका, सङ्घ र प्रदेशवाट झण्डै ९५ लाख रुपियाँ मालिका लेख क्षेत्रको पूर्वाधार विकासमा लगानी भइसकेको छ । जसअन्तर्गत मन्दिर निर्माण, सिँढी, प्रवेशद्वार, चौतारो, प्रतीक्षालय लगायत संरचना निर्माण सम्पन्न भएका छन् । आगामी योजनामा खानेपानी, शौचालय, पिकनिक स्पट र फन पार्क निर्माण गरिने छ। बजेट थप गर्दै जाने योजना छ ।

दार्मा गाउँपालिका–४ मा अवस्थित मालिका लेक समुद्री सतहदेखि १,७०० मिटर उचाइमा छ । १६८० सालदेखि मालिका र कालिका भगवतीको पूजा सुरु भएको किंवदन्ती रहेको यस लेक क्षेत्रमा प्रत्येक वर्ष दसैंको पञ्चमी र मङ्सिर पूर्णिमामा ठुलो मेला लाग्ने चलन छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मालिका लेक कर्णालीको धार्मिक सम्पदा भएकाले संरक्षण र विकासका आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्ने बताए । उनले कर्णालीका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्धन गरेर आय आर्जन केन्द्रित गरिने बताए । कर्णाली प्रदेश सभाका सदस्य भिमप्रकाश शर्माले धार्मिक स्थलहरूको संरक्षणले स्थानीय विकासमा समेत योगदान पुर्‍याउने बताए । उनको मालिका लेख जस्ता क्षेत्रहरूलाई दीर्घकालीन परियोजनाको रूपमा विकास गर्न आवश्यक छ । यसले आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तरमा सकारात्मक प्रभाव पार्छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले सरकारले पर्यटकीय क्षेत्रको विकासमा पूर्वाधार निर्माणमा जोड दिए पनि पर्यटक आर्कषित गर्न समुदायको सक्रियताले मात्र सफल हुने बताए । दार्मा गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर रावतले पूर्वाधार, सूचना र सेवा विस्तार गर्न सबै तहको सहकार्य र लगानी आवश्यक भएको उल्लेख गरे । दार्मा गाउँपालिका–४ मा अवस्थित मालिका लेक समुद्री सतहदेखि १,७०० मिटर उचाइमा रहेको छ । १६८० सालदेखि मालिका र कालिका भगवतीको पूजा सुरु भएको किंवदन्ती रहेको यस लेक क्षेत्रमा प्रत्येक वर्ष दसैंको पञ्चमी र मंसिर पूर्णिमामा ठुलो मेला लाग्ने चलन छ। जिल्ला समन्वय समितिक उपप्रमुख तथा स्थानीय असविर बुढाथोकीले बाईसे–चौबिसे राज्यकालमा सल्यान, जाजरकोट, बडागाउँ र जुम्लाका राजाहरूले मालिका लेकमा वर्षेनी अनिवार्य रूपमा पूजा गर्ने परम्परा रहेको बताए । उनका अनुसार तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले १९९० सालमा चढाएको घण्टा अहिले फुटेर टाउको मात्र बाँकी रहेको छ ।

लेकबाट जाजरकोट, पश्चिम रुकुम, रोल्पा र दैलेख जिल्लाका भागहरू अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारका लागि दार्मागाउँपालिका सल्यान र डिभिजन वन कार्यालय सल्यानले सल्यान जिल्लाका १० वटै स्थानीय तहका प्रमुख प्रतिनीधि र सरकारी निकायको उपस्थितिमा नेपाल पत्रकार महासङ्घ सल्यानको सहजीकरणमा मालिका लेकमा पर्यटन प्रवर्धनका लागि बहस कार्यक्रम सञ्चालन गरेको हो ।

तपाईको प्रतिक्रिया