रुकुम पश्चिम । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अवैध अफिम खेती नष्ट गर्न रुकुम पश्चिम प्रहरी सक्रियताका साथ लागेको छ ।
प्रहरीले गत चैत पहिलो सातादेखि हालसम्म कुल २ सय ३३ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको बताएको छ । आठबिसकोट नगरपालिकाको वडा नं. १, २, ३, ५, ७ र १२ का विभिन्न स्थानमा पुगेर करिब १ सय ६३ रोपनीमा लगाइएको अफिम नष्ट गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश विष्टले जानकारी दिए । यसका साथै सानीभेरी गाउँपालिका–६ मा ३५ रोपनीमा र बाँफिकोट गाउँपालिका–५ मा ३५ रोपनीमा लगाएको अफिम पनि यसै क्रममा नष्ट गरिएको पनि डीएसपी विष्टको भनाइ छ ।
बर्सेनि यसै प्रकारले विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गर्ने गरिएको भए पनि यसमा संलग्नलाई भने पक्राउ गरी कारबाहीको दायरामा ल्याउन भने प्रहरीले सकिरहेको छैन । यस विषयमा डीएसपी विष्टले खेती गरिएको स्थानमा प्रहरी पुग्दा मान्छे कोही पनि नभेटिने गरेको बताए । मान्छेको पहुँचभन्दा निकै टाढा र अनकन्टार ठाउँमा खेती गरिएको हुन्छ । प्रहरी त्यहाँ पुग्दा कोही पनि हुँदैन । तर यससँग सम्बन्धित मान्छे पत्ता लगाउने हाम्रो कोसिस जारी छ ।

नेपालीरैबार । २०८२ बैशाख १२, शुक्रबार