सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वविद्यालयहरू केवल शिक्षण केन्द्र मात्रै नभई अनुसन्धान, नवप्रवर्तन र सामाजिक रुपान्तरणका सशक्त आधार भएको बताएका छन् । शुक्रबारबाट सुरु भएको मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजि ‘वर्तमान परिवर्तनशील विश्वमा शिक्षा, समाज र व्यवसायका प्रवृत्तिहरू बुझ्दै भविष्यको निर्माण’ विषयक अन्र्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।
उच्च शिक्षा अध्ययनका नाममा आफ्नो मुलुक छाडेर विदेश जाने संख्या उकालो लागेको उल्लेख गर्दै सिमित साधन र श्रोतका कारण नेपालको शिक्षालाई वैदेशिक शैक्षिक संस्थासँग प्रतिस्पर्धामा लैजान ठूलो चुनौती रहेको बताए । यस्ता चुनौतीको सामना गर्न परिवर्तित समयलाई आत्मसाथ गर्दे नेपालका विश्वविद्यालयहरुले आफूलाई समय सुहाउँदो रुपान्तरण गर्नुपर्ने उनले बताए ।
‘प्रविधिको द्रुत विकासले कृत्रिम बुद्धिमत्ता, डिजिटल शिक्षण, दिगो विकास र समावेशी सोचका नयाँ प्रवृत्तिहरूले शिक्षालाई विश्वव्यापीकरण गराइरहेको वर्तमान समयमा मध्यपश्चिम विश्वविद्यालयले पनि आफूलाई त्यसतर्फ केन्द्रित गर्दै शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन आफ्ना सम्पूर्ण शैक्षिक क्रियाकलापहरु त्यसतर्फ लैजान सकेमा विद्यार्थी पलायनको अवस्थालाई सुधार गर्न सकिन्छ,’ उनले भने ।
कर्णाली प्रदेशमा शिक्षा, समाज र व्यवसायका क्षेत्रमा अनेक चुनौती रहेको उल्लेख गर्दै उनले भौगोलिक विकटता, बहुआयामिक गरिवी, बेरोजगारी, पूर्वाधारको अभावजस्ता कारणले यहाँका विकास अपेक्षित हुन नसकेको दावी गरे । ‘कर्णालीसँग अथाह सम्भावनाहरू पनि छन् । यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, युवा जनशक्ति र जलस्रोतजस्ता सम्पदाहरूलाई सही रूपमा प्रयोग गर्न सकेमा हामीले कर्णालीलाई समृद्ध प्रदेश बनाउन सक्छौं,’ उनले भने ।
विश्वविद्यालयले शिक्षा, अनुसन्धान र सामुदायिक सेवाका माध्यमबाट कर्णाली प्रदेशको विकासमा ठूलो योगदान गर्न सक्ने उनको भनाई थियो । यसका लागि स्थानीय आवश्यकताहरूलाई ध्यानमा राखेर पाठ्यक्रमहरू निर्माण गर्ने, अनुसन्धानका माध्यमबाट यहाँका समस्याहरूको समाधान गर्ने र विश्वविद्यालयमा रहेको जनशक्तिलाई सामुदायिक सेवाको माध्यमबाट परिचालन गर्दे कर्णालीको विकास र समृद्धिको यात्रामा विश्वविद्यालयसँग सहकार्य गर्न इच्छुक रहेको उनले बताए ।

नेपालीरैबार । २०८२ बैशाख १२, शुक्रबार