सुर्खेत । व्यवसायिक शिलिशिलामा उनलाई कृषिसँग सम्बन्धित बाहेक अन्य कुनै व्यवसाय गर्न मन छैन । किनकी करिब दुई दशक समय कृषिसँग सम्बन्धित व्यवसायमै बिताएकी उनले यो पेशाबाट प्रयाप्त अनुभव बटुली सकेकी छन् । उनी हुन्ः उद्यमी महिला झरना थापा । हाल कृषि व्यवसायमा राम्रो दख्खल भएकी झरनालाई सबैभन्दा प्यारो र उत्तम व्यवसाय नै यही लाग्छ ।
जीवनमा व्यवसायका अनेक विकल्प हुदाँहुदै कलिलो उमेरदेखि यही पेशामा लागेकी झरनालाई अब यसै पेशामा कसरी अब्बल र स्थापित हुने भन्ने चिन्ता छ । वीरेन्द्रनगर–३ तातापानी, पतेनीरोड सुर्खेतमा झरना नर्सरी उद्योग सञ्चालन गरेकी उनी विगत २० वर्षदेखि कृषि कर्ममा संलग्न छन् ।
सुरुका ७ वर्ष तरकारी व्यवसाय सञ्चालन गरेकी झरना विगत १३ वर्ष यता नर्सरी उद्योग सञ्चालन गरिरहेकी छन् । श्रीमानको सहयोगमा उनले आफ्नै १० कट्टा जग्गामा सिजनल फलफुल तथा अन्य विरुवा उत्पादन गर्दै आएकी हुन् । नर्सरी उद्योगमा इन्डोर प्लान्ट, शो प्लान्ट, सिजनल फुलहरु, फलफुल, आकर्षक गमलाहरु पाईनुका साथै गार्डेनिङ्ग पनि गरिन्छ ।
‘यो व्यवसायमा विरुवा हुर्काएर बेच्नु भनेको सन्तान हुर्काएर अर्काको घर पठाउनु जस्तै चुनौती हो । मान्छेलाई जस्तै विरुवालाई पनि समयमै खाना पानी नदिए मर्छन्’ उनले भनिन्, ‘दिनरात खटिएर दुखले हुर्काएका विरुवामा कोही कसैले थुकिदियो वा फोहोर ग¥र्यो भने मेरै शरीरमा थुकेजस्तो महशुस हुन्छ ।’
उनको नर्सरी उद्योगमा अहिले ८ जनाले रोजगारी पाएका छन् । यहाँ उत्पादन भएका सिजनल विरुवा कर्णाली प्रदेशका विभिन्न जिल्लासँगै नेपालगंजसम्म निर्यात हुने गरेका छन् । उनका अनुसार विरुवाको वीउ राख्दादेखि नर्सरी व्याड, वा गमलामा विरुवा सारेर हुर्काउँदासम्म निकै दुख गर्नुपर्छ । यसरी हुर्काएका फरक फरक जातका विरुवाको पनि फरक फरक मुल्य छ ।
‘विरुवा पनि मान्छे जस्तै सजिव बस्तु हो । तर उसले नबोले पनि इसारा गरिरहेको हुन्छ । त्यो हामीले बुझ्नुपर्छ’ नेपाली रैबारसँग उनले थपिन्, ‘काम गर्दा गर्दा अहिले विरुवाको पनि भाषा बुझ्न थालेकी छु, सन्तान हुर्काएझै विरुवा हुर्काए बेच्छु । जे होस् म मेरो कर्मप्रति सन्तुष्ट छु ।’
सुरुसुरुमा झरनाले यो व्यवसाय सुरु गर्दा अधिकांश आफन्तले यो व्यवसाय किन गरेको ? कसरी चल्छ ? भन्ने जस्ता प्रश्न गथ्र्ये । तर अहिले विस्तारै सबैले महत्व बुझन थालेका छन् । प्रदेश सरकारका मन्त्रालय तथा कार्यालयदेखि अधिकांश सरकारी गैर सरकारी र निजी संस्था वा उद्योगमा समेत अहिले विरुवाका गमला वा विरुवा रोपेर आकर्षक थालिएको छ । यसले गर्दा पनि उनले उत्पादन गरेका विरुवा बिक्रि हुने क्रम बढेको हो ।
अहिले आफुसँग आउने सबै ग्राहक सन्तुष्ट रहेको झरनाले बताइन् । उनका अनुसार विरुवा उत्पादनका लागि वीउ अमेरीका, जापान, होल्याण्ड लगाएत देखबाट मगाउनुपर्छ छ । चिसोको लागि गर्मिमा र गर्मिका लागि चिसोमा वीउ मगाउने गरेको उनको भनाइ छ ।
‘गत वर्ष दशै तिहारका लागि लगाएको ७ क्वीन्टल फुल बिक्रि नहुँदा सुकेर खेर गयो । ग्राकहले बजारको प्लाष्टिकको माला किन्छन् । तर असली फुलको महत्व अझै बुझेका छैनन्’ उनले गुनासो गरिन, ‘त्यही डरले यस वर्ष धेरै फुल उत्पादन गरेका छैनौ । गत वर्ष वीउको मुल्य पनि उठेन ।’
व्यवसायमा चुनौती मोल्नु सामान्य भएको भन्दै उनले आगामी वर्षदेखि सबै कृषि उपकरण तथा औजार बिक्रि सहितको व्यवसाय विस्तार गर्ने लक्ष्य रहेको बताइन् । उनको परिवारमा दुई छोरी, एक छोरा, श्रीमान र सासुआमा छन् । श्रीमनको पनि अन्य कुनै पेशा नभएकाले दुबै जना मिलेर यसै व्यवसायलाई अब्बल बनाउने रणनीतिमा छन् ।
भविष्यमा आफ्ना छोरा छोरीलाई पनि यही व्यवसायमा लगाउने झरनाले बताइन् । यस वर्ष लकडाउनले गर्दा झण्डै ६ लाख घाटा बेहोर्नु परेको भन्दै नर्सरीको आम्दानीले छोराछोरीको घढाई तथा घर खर्च सजिलै चलेको उनको भनाइ छ ।
सुरेश आचार्य । २०७७ आश्विन २१, बुधबार