सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र गोठिकाँडा हुँदै बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने सडकको स्तरोन्ती कार्य सुरु भएको छ । सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले सो सडकको शिलान्यास गरेका हुन । वीरेन्द्रनगर–१४, स्थित गोठिकाँबाट सुरु भई बराहताल गाउँपालिकाको कल्याणकाँध जोड्ने (छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध) सडक शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले यस सडकले पर्यटकीय संभावना बोकेको गोठीकाँडा क्षेत्रको विकास तथा बराहताल गाँउपालिकाकोे माथिल्लो भेगका नागरिकलाई यातायात सेवामा सहजता ल्याउने बताए ।
गोठिकाँडा क्षेत्रलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त आधार भएको उल्लेख गर्दै कडेलले स्थानीयस्तरमा विवाद सिर्जना नभएको खण्डमा तोकिएकै समयमा सडकले पूर्णता पाउने विश्वास व्यक्त गरे । गोठिकाँडा क्षेत्रलाई पर्यटकीय हव बनाउने योजना अन्तर्गत प्रदेश सरकारले सडक स्तरोन्तीको कार्य अघि बढाएको उनको भनाई थियो । विकास जनप्रतिनिधि र कर्मचारीको मात्रै हो भन्ने मानसिकता त्याग्नुु पर्ने बताउदै उनले सडकसँगै स्थानीय उत्पादन र उत्पादकत्व बढ्ने खालका आयमुलक क्षेत्रमा जोडिन स्थानीयलाई आग्रह गरे ।
आगामी १५ असार २०८३ भित्र सम्पन्न गर्ने कार्यादेशसहित सडक स्तरोन्तीको कार्य सुभारम्भ भएको पूर्वाधार निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीले बताए । प्रदेश सरकारले हालै स्वीकृत गरेको प्रादेशिक सडक गुरुयोजनामा समावेश भएको छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध खण्डको सात किलोमिटर सडक स्तरोन्ती गरिने उनले बताए । उनका अनुसार पहिलो खण्डमा साढे तीन किलोमिटर सकड कालोपत्रे गरिने छ, भने बाँकी साढे तीन किलोमिटर सडक नालासहित ग्राभेल गरिनेछ ।
यो सडकको स्तरोन्ती कार्य सुरु भएसँगै पर्यटकीय सम्भावना बोकेको गोठिकाँडा क्षेत्रसँगै बराहताल गाउँपालिकाको उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा लिन सहज हुनेछ । सात करोड ९८ लाख लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बिआई एस कन्सट्रक्सन प्रालि बिच निर्माण सम्झौता भई सडक स्तरोन्तीको कार्य अघि बढेको हो ।

नेपालीरैबार । २०८२ जेष्ठ १२, सोमबार