भारतीय मिडियालाई चीनले दियाे चेतावनी

चीनले ताइवानको राष्ट्रिय दिवसका सन्दर्भमा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरूलाई ‘चेतावनी’ दिएको छ । अक्टोबर १० मा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरू र केही विद्युतीय सञ्चारमाध्यमले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेका थिए ।

नयाँदिल्लीस्थित चिनियाँ दूतावासद्वारा भारतीय सञ्चारमाध्यमहरूलाई सम्बोधन गर्दै जारी एक विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएकाले अलग राष्ट्रको सन्देश दिने सामग्री प्रकाशित नगर्न ‘चेतावनी’ दिएको हो । ‘ताइवानको तथाकथित राष्ट्रिय दिवसबारे भारतीय मिडियाका साथीहरूलाई ताइवान चीनको अभिन्न अंग रहेको र भारतस्थित चिनियाँ दूतावास विश्वमा मात्र एउटा चीन रहेको जनवादी गणतन्त्र चिनियाँ सरकार मात्र पूरै चीनको प्रतिनिधित्व गर्ने एक मात्र सरकार भएको स्मरण गराउन चाहन्छ,’ दूतावासको प्रेस विभागद्वारा भारतीय मिडियालाई सम्बोधन गर्दै जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतका प्रमुख छापा माध्यममा बुधबार प्रकाशित सामग्रीमा कोभिड–१९ महाव्याधिको रोकथाममा ताइवानले पाएको सफलतामा खुसी र गौरव मान्दै राष्ट्रिय दिवस मनाउन लागिएको उल्लेख छ ।

त्यसैगरी, यो सफलताका पछाडि लोकतन्त्र, मानवअधिकार र विधिका शासन, निजी क्षेत्र र नागरिकहरूबीचको सहकार्यको नतिजा भएको समेत जनाइएको छ । केही भारतीय टीभी च्यानलले त ताइवानको राष्ट्रिय दिवसमाथि विशेष कार्यक्रम नै प्रसारण गरेका थिए ।

त्यस्तै, दूतावासले चीनसँग कूटनीतिज्ञ सम्बन्ध रहेका सबै मुलुकहरूले ‘एक चीन’ नीतिप्रति आफ्नो प्रतिबद्धताको दृढताका साथ सम्मान गर्न पनि सचेत गराएको छ । र, भारत सरकारले विगत लामो समयदेखि यही नीति अंगीकार गर्दै आएको हुँदा भारतीय सञ्चारमाध्यम पनि त्यसमा अडिग रहने र एक चीन नीतिको उल्लंघन नहुने अपेक्षासमेत दूतावासले गरेको छ ।

‘हामीलाई आशा छ भारतीय सञ्चारमाध्यम ताइवानको सम्बन्धमा भारत सरकारको नीतिलाई पालना गर्दै एक चीन नीति उल्लंघन गर्ने छैनन्,’ दूतावासले भनेको छ । दूतावासले भारतीय छापामा प्रकाशित विज्ञापनमा रहेका ‘ताइवानका राष्ट्रपति’ र ‘राष्ट्र’ जस्ता शब्दहरूप्रति आपत्ति जनाउँदै त्यस्ता शब्दले आममानिसमा गलत सन्देश प्रवाह भएको जनाएको छ ।

चिनियाँ दूतावासले उक्त विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै ताइवानले पनि जवाफमा कडा प्रतिक्रिया दिएको छ । ताइवानको विदेश मन्त्रालयको आधिकारिक ट्वीटर ह्यान्डलबाट चीनले भारतमा ‘सेन्सरसिप’ लाद्न खोजेको आरोप लगाएको छ ।

‘भारत विश्वकै जीवन्त प्रेस र स्वतन्त्रता मन पराउने मानिसहरू भएको सबैभन्दा ठूलो लोकतन्त्र हो । तर, लाग्छ कम्युनिस्ट चीन यस महाद्वीपमा सेन्सरसिप लाद्न चाहन्छ,’ ताइवानको विदेश मन्त्रालयको ट्वीटमा भनिएको छ ।

भारत सरकारले भने भारतीय सञ्चार माध्यम आफूलाई ठीक लागेको मुद्दा उठाउन स्वतन्त्र रहेका जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित पत्रकार सम्मेलनमा त्यस्तो धारणा राखेका हुन् ।

तपाईको प्रतिक्रिया