स्थानीय सरकारका तीन वर्ष : प्राथमिकतामा खानेपानी, नागरिकका समस्या उस्तै

जाजरकोट । आर्थिक वर्ष २०७६-०७७ मा जाजरकोटका सात वटा स्थानीय तहले खानेपानीलाई पनि प्राथमिकतामा राखे । स्थानीय तहका विभिन्न ठाउँमा खानेपानीमा धारा तथा मुहान निर्माण गरियो । आयोजना सम्पन्न समेत भए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतमा समेत खानेपानीलाई प्राथमिताका राखेर खानेपानीको धारा निर्माण गरिएको छ ।

भेरी नगरपालिकाले गत आर्थिक वर्षमा २१ वटा खानेपानी योजना निर्माण गरेको तथ्यांकमा उल्लेख गरेपनि यहाँका अधिकांश ठाउँमा खानेपानीको निकै समस्या रहेको छ । कुदु, खलंगा, जगतीपुर, कट्टीगाउँ, पुन्मा लगायतका ठाउँमा खानेपानीको अभाव सधै भईरहन्छ । ‘स्थानीय सरकारले खानेपानीलाई प्राथमिकता राख्छ तर हामीलाई सधै खानेपानीको पिरलो हुन्छ ।’ भेरी नगरपालिका ७ पुन्माका दिप्रेन्द्र सिंहले भने ।

नगरपालिकाको कुदुमा वर्षाैँदेखि खानेपानीको अभाव भईरहन्छ तर स्थानीय सरकारले ध्यान नदिएको स्थानीय कल्पना विकले जानकारी दिइन । उनले भनिन्, ‘हामीले खानेपानी भर्नलाई ३ घण्टासम्म लाईनमा बस्नुपर्छ । जति नेता आउँछन् व्यवस्था मात्र गर्छु भन्छन् तर पछि फर्किदैनन् ।’ सदरमुकामसमेत रहेको खलंगामा खानेपानीको अभाव हुँदा निकै समस्या भएको स्थानीय सुरेश विकले बताए । भेरीमालिका दैनिकमा समाचार छापिएकाे छ ।

‘नगरपालिकाले छुट्टयाएको रकम आउँछ गतिलो तरिकाले निर्माण हँुदैनन्, दुई÷तीन महिनासम्म ठीकै हुन्छ तर पछि बिग्रेर जान्छ’ उनले भने ।’ जिल्लाको बारेकोट गाउँपालिकाले गत आर्थिक वर्षमा १३ वटा वृहत तथा २० वटा साना खानेपानी योजना सम्पन्न गरेको तथ्यांकमा उल्लेख गरेको छ । गाउँपालिकाको वडा नं. ४ को सार्कीटोलमा अहिले खानेपानीको हाहाकार भएको छ ।

गाउँपालिका भित्रको बयाल, धुमा, रोकायगाउँ, कालाखोली, भैलुखाना, जिरी लगायतका क्षेत्रमा खानेपानीको निकै समस्या हुने गरेको नेकपाका नेता तिलबहादुर रावतले जानकारी दिए । गाउँपालिकाले सुरुवाती चरणदेखि खानेपानीलाई प्राथमिता राखेको छ, तर गतिलो तरिकाले निर्माण नुहँदा खानेपानीको समस्या भोग्नु परेको वडा नं १ बयालका सन्तोष विकले गुनासो पोखे ।

कुशे गाउँपालिकाले आर्थिक वर्ष २०७६-०७७ मा ६ हजार ५ सय पाइपलाईन विस्तार गरेको गाउँपालिका उपाध्यक्ष रामछाया शाहीले जानकारी दिइन् । उनका अनुसार, गत आर्थिक वर्षमा ६५ वटा खानेपानीका धारा निर्माण गरिएको छ ।

गाउँपालिकाले खानेपानीको समस्या समाधान भएको भनेपनि स्थानीयको पीडा उस्तै छ । कुशे गाउँपालिका बासिन्दा वर्षौदेखि खानेपानीको चर्को समस्या भोग्दै आएका छन् ।

नजिकमा पानीको मुहान नहुँदा उनीहरु पानीको लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । खानेपानीको लागि गाउँले आपसी मनमुटाव पनि हुने गरेको छ । स्थानीयहरु भन्छन्, ‘हामीले कहिलेसम्म यस्तो समस्या भोग्ने ?’ पानीको लागि आफुहरुको दुई तीन घण्टा समय बित्ने गरेको हरिमाया नेपाली बताउँछिन् । पानी भर्न पालो कुरेर बस्नुपर्दा घरको काममा पनि बाधा पर्ने गरेको उनले बताइन् । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले खानेपानीको समस्या समाधान गर्ने बताए ।

नलगाड नगरपालिकाले गत आर्थिक वर्षमा खानेपानी अन्तर्गत १० ईन्टेक, ९ ट्यांकी, २५ वि.सि.टी र १ सय २१ वटा धारा निर्माण गरिएको जनाएको छ । साथै नगरपालिकाको वार्षिक प्रगति प्रतिवेदनमा १२६.५५ प्रतिशत पाईपलाइन विछ्याईएको समेत देखाएको छ । तर स्थानीयलाई सिंचाई गर्न मात्र, होइन पिउने पानीको समेत समस्या हुने गरेको नलगाड नगरपालिका १ कल्पतकी टीका विश्वकर्माले जानकारी दिइन ।

पालिकाले पटक–पटक निर्माणका लागि बजेट त छुट्याउँछ तर गतिलो तरिकाले निर्माणको अनुगमन नहुँदा समस्या भएको उनको भनाई छ । गत आर्थिक वर्षमा शिवालय गाउँपालिकाले भने खानेपानीमा खासै योजना नपारेको वार्षिक प्रगति प्रतिवेदनमा देखिएको छ ।

शिवालय गाउँपालिकाको थालारैकरमा समेत खानेपानीको समस्या निकै छ । छेडागाड नगरपालिकामा २ सय ५ परिवार खानेपानीबाट लाभान्वित भएको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ । नगरपालिका भरिका १ हजार ५३ धरधुरीमा खानेपानीको सुविधा पुगेको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए ।

नगरपालिकाको वडा नं ४ मा खानेपानीको समस्याले नाउलाको प्रदुषित पानी पिउन बाध्य भएको स्थानीय जयबहादुर खड्काले बताए । नगरपालिका भित्रका विभिन्न वडाहरुमा खानेपानीको समस्या निकै भएको स्थानीयहरुले बताएका छन् ।

जिल्लाको जुनीचाँदे गाउँपालिकामा गत आर्थिक वर्षमा ३१ वटा खानेपानीका आयोजना भएपनि २७ निर्माण भएको र ४ वटा निर्माण हुन बाँकी रहेको गाउँपालिकाका कार्यवाहक उपाध्यक्ष शिवा आचार्यले जानकारी दिइन ।

गाउँपालिकामा खानेपानीको योजनाहरु निर्माण भएपनि खानेपानीको समस्या खासै हल हुन नसेको स्थानीय महेन्द्रबहादुर शाहीले जानकारी दिए । स्थानीय तहले खानेपानीलाई प्राथमिकता दिएर निर्माण गरेपनि नागरिक लाभान्वित नभएको पाइएको छ । नागरिकका लागि गरिएको विकास निर्माणमा नागरिक नै लाभान्वित नहुनु भनेको यो विकासलाई सकारात्मक विकास भन्न सकिने स्थिति नभएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया