सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १८ वटा गौरवका योजनाहरू समावेश गरिएको छ ।
गौरव योजनाहरूमा जंगलमा फिरन्ते जीवन यापन गर्दै आएका राउटे समुदायका लागि स्थायी नमूना बसोबासको व्यवस्था मुख्य प्राथमिकताका रूपमा उल्लेख गरिएको छ। यसअघि नै गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र वितरण गरी अभिलेख संकलन गरिसकेको छ ।
गाउँपालिकाले एक घर, एक धारा एक घर, एक रोजगारू कार्यक्रम अघि बढाउने योजना बनाएको छ । भौतिक, मानव र दीगो विकासमा केन्द्रित नीति तथा कार्यक्रमहरू मार्फत पूर्ण सरसफाइ तथा सुरक्षित खानेपानीयुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य लिइएको अध्यक्ष विसीले जानकारी दिए ।
एक वडा, एक उद्योग र एक टोल, एक उत्पादन कार्यक्रम, टोल विकास संस्थामार्फत श्रम सहभागिता अभिवृद्धि, गुराँस गौरव मार्गको निर्माण तथा कृषि विकास र अनुसन्धान केन्द्रसँगै टिसु कल्चर ल्याब सञ्चालन पनि आगामी वर्षको योजनामा समावेश छन् ।
यसबाहेक, शून्य भ्रष्टाचारू र बेरुजु नियन्त्रण नीतिसमेत ल्याइएको छ । गाउँपालिकाले १५ शैयाको अस्पताल सञ्चालन, ५ शैयाको आयुर्वेद अस्पताल निर्माण, योगा हल, हेल्थ सेन्टर, खुला व्यायामशाला तथा डिजिटल गाउँपालिका र लेस पेपर कार्यालय स्थापना गर्ने योजना अघि सारेको छ । बाँझो जमिनको उपयोग, उत्पादनमा सहयोग, कृषकसँग अध्यक्ष कार्यक्रम, तथा गुराँसको सान, रैथाने पहिचान अभियानसमेत नीति कार्यक्रममा समावेश गरिएको छ ।











नेपालीरैबार । २०८२ असार १०, मंगलवार