आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको मौसम

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको अवस्था

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

सावधानी अपनाउन आग्रह

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। सम्भावित भारी वर्षाको कारणले बाढी, पहिरो, भू–क्षय र गेग्रान बहावको जोखिम रहेको छ।

सहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा, साना–ठूला नदी तथा खोलामा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, यातायात प्रणाली ९सडक तथा हवाई० मा समेत असर पुग्न सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया