देशभर मनसुनी प्रभाव कमजोर

काठमाडौँ । हाल देशभर मनसुनको प्रभाव सामान्यभन्दा कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको तुलनामा दक्षिणतिर सरेको हुँदा वर्षाको गतिविधि कमजोर देखिएको महाशाखाले जनाएको छ ।

यसको प्रभाव स्वरूप कोशी, बागमती र गण्डकीसहित अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था छ। बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

दिउँसोको पूर्वानुमान

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ । ती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको अवस्था

आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।

सावधानी अपनाउन आग्रह

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया